“उपत्यकाका सडकमा थुप्रै दुर्घटनाहरू भइरहेका हुन्छन्। ती घट्नाले धेरै तनाव र दुःखी बनाउने भनेको ट्राफिक प्रहरीलाई नै हो। किनभने यो सडक दुर्घटना नजिकबाट दृश्य देख्ने ट्राफिक प्रहरी नै हुन्छ। एउटा चालक, यात्रु घाइते भयो, ज्यान गयो, हातखुट्टा भाँचियो। हामी कसरी दैनिक दुर्घटना भएको र बढेको हेर्न सक्छौँ, भन्नुहोस् त? हाम्रो काम नागरिकको सुरक्षा, कम क्षति र दुर्घटना न्यूनीकरण गराउनु हो। ट्राफिक प्रहरीको उद्देश्य नै अघिल्ला महिनाकोभन्दा यो महिना कम क्षतिको रेकर्ड राख्नु हो। त्यो नै मेरो सफलता हो-´´यो भनाइ अरू कसैको नभएर काठमाडौ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेको हो।
प्रमुख काफ्लेले टुकी नेटवर्कसँग कुरा गर्दै भन्नुभयो, गलत सूचना प्रवाह भएको कारण ट्राफिक प्रहरीले राजस्व उठायो भन्ने भ्रम परेको छ। होइन, हाम्रो काम राजस्व उठाउने होइन, राजस्व त सरकारले उठाउँछ।
उहाँ भन्नू हुन्छ-“हाम्रो उद्देश्य भनेको सडकमा नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस्, भएका घटनाहरूलाई रोक्नु, नागरिकलाई घाइते हुनबाट बचाउनु, सडक प्रयोगकर्तालाई सडक नियमको पालन गराउनु हाम्रो दायित्व हो। हरेक सडक प्रयोगकर्ताले उचित नियम पालन गरिदिनु र सडक दुर्घटना न्यूनीकरण गर्न कम गर्नु हाम्रो मुख्य उद्देश्य रहेको छ।”
हामी ट्राफिक प्रहरीको पहिलो लक्ष्य नागरिकले सडकमा ज्यान गुमाउन नपरोस् भन्ने हो। यस्ता कयौँ घटनाहरू छन्, तिनले हामीलाई बारम्बार चिन्तित बनाइरहेको हुन्छ।
ट्राफिक नियममा केही जिम्मेवारी र दायित्व पनि छन्। त्यो के हो भने हाम्रो जिम्मेवारी सडक दुर्घटनाको न्यूनीकरण र दायित्व भनेको सडक नियम पालन नगरेका सवारीहरूलाई कारबाही गर्नु पनि हो। यसैअन्तर्गत उचित नियम पालन नगर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याउँदा जरिवाना तिराइन्छ। त्यो चाहिँ चालकले अर्को पटक यस्तो गल्ती नगरोस् भनेर सचेत गराउनका लागि गरिएको उहाँको भनाइ छ ।
प्रमुख काफ्ले भन्नू हुन्छ,“हामीमाथि आरोप छ तर हामीले तिराउने जरिवाना सरकारी नियम अनुसारकाे हो। साथै, सवारी नियम उल्लङ्घन गर्दा जरिवाना तिराउने अन्तर्राष्ट्रिय मान्यता पनि हो । के यो नेपालमा मात्र हो र? होइन।´´
उहाँ थप प्रस्ट पार्नु हुन्छ- “सडकमा बसेर सरकारलाई राजस्व उठाउँछ भन्ने जुन आरोप छ, त्यसबाट ट्राफिक प्रहरीले छुटकारा पाउनुपर्छ। यसमा ट्राफिक प्रहरीको कुनै स्वार्थ छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यसका मातहतलाई कार्यको जिम्मेवारी नै तोकिएको छ। प्रहरी नियमावली २०७१ मा ट्राफिक प्रहरीको काम, कर्तव्य र अधिकार स्पष्ट लेखिएको छ।´´
नियमावलीअनुसार प्रहरीको काम जरिवाना उठाउने होइन? सडक दुर्घटना न्यूनीकरण, घाइतेको संख्या कम गराउनु र मृत्यु दर कम गराउनु नै हाम्रो प्रमुख उद्देश्य रहेको छ। काठमाडौ उपत्यका ट्राफिक प्रहरी त्यहीअनुसार लागिरहेकाे छ।
हामीलाई लुकेर चिट काट्यो भन्ने आरोप छ। अहिले हामीले सडकमा सर्वसाधारणकै अगाडि बसेर चेकजाँच गर्ने गरेका छौँ। उहाँ भन्नुहुन्छ,“विभिन्न क्षेत्रमा मानिसलाई सडकमा ल्याएर सडक सुरक्षाको जानकारी दिने र भौतिक उपस्थितिमा सवारी अनुगमनलाई सुनिश्चित र सुरक्षित गराउन ट्राफिक प्रहरी कार्यालय काठमाडौँ निरन्तर खटिरहेका छ।´´ट्राफिक प्रहरी खुला ठाउँमा बसेर चेकजाँच गर्ने अभियानमा लागेको छ।
ट्राफिककाे नमस्कार अभियान
प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरी र सर्वसाधारणबीचको दूरी घटाउन ‘टाढैबाट नमस्कार’ गर्ने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत ट्राफिक प्रहरीले हात नमिलाउने,नम्र भाषामा सडक नियमबारे जानकारी गराउने र चालक तथा सडक प्रयोगकर्तालाई सचेत गराउने गरिन्छ।
“ट्राफिक प्रहरीलाई देखेपछि डराउने र भाग्ने अवस्था अन्त्य गर्नुपर्छ। हामी नागरिकलाई कारबाही गर्नुभन्दा पहिले सचेत गराउने प्रयासमा छौँ,” काफ्लेले भन्नुभयो।
उहाँका अनुसार सडक नियम उल्लङ्घन गर्ने सवारी साधनको निगरानीमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामेरा तथा अन्य प्राविधिक प्रणालीको सहयोगमा तीव्र गति, लेन उल्लङ्घन तथा अन्य ट्राफिक नियम मिचेको अवस्थाको अभिलेख राखिने गरिएको उहाँले बताउनुभयो। सवारी नम्बर, समय, गति तथा नियम उल्लङ्घनको दृश्यसमेत अभिलेखमा रहने भएकाले ट्राफिक प्रहरीको आँखा छल्दै नियम उल्लङ्घन गरे पनि कारबाहीबाट उम्कन नसकिने उहाँको भनाइ छ।
उजुरी र गुनासाे
ट्राफिक प्रहरीले विना गल्ती कारबाही गरेको भएमा सवारी प्रयोगकर्तासँग पुनरावेदन तथा उजुरी गर्ने कानुनी अधिकार पनि छ। गल्ती नगरेको अवस्थामा जरिवाना तिराइएको भए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७१ मा यससम्बन्धी व्यवस्था गरिएको छ। यातायात व्यवस्था विभागमा ३५ दिन भित्र उजुरी गर्न सकिने र त्यसबाट पनि चित्त नबुझेमा कानुनी प्रक्रियाअनुसार उच्च अदालतसम्म जान सकिने उहाँले जानकारी दिनुभयो।
दुर्घटनामा दैनिक ठूलो मानवीय क्षति
सवारी दुर्घटनाबाट दैनिक ठूलो संख्यामा मानवीय क्षति भइरहेकोमा उहाँको चिन्ता छ। उहाँका अनुसार देशभर दैनिक करिब आठ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब पाँच जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ। यस्तै दैनिक ५० जनाभन्दा बढी मानिस अंगभंग हुने गरेका उदाहरण छन् ।
उहाँले दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु, सडक प्रयोगकर्ता र ट्राफिक प्रहरी सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
उपत्यकामा २१ लाखभन्दा बढी सवारी
काफ्लेका अनुसार काठमाडौं उपत्यकामा करिब २१ लाख १८ हजार ४ सय सवारी साधन सञ्चालनमा छन्। तीमध्ये करिब १६ लाख ५६ हजार दुईपाङ्ग्रे सवारी साधन छन्।
उपत्यकामा नयाँ सवारी साधन दर्ता हुने क्रम निरन्तर बढ्दै जाने हो भने आगामी वर्षहरूमा सडकको क्षमताले थेग्न नसक्ने उहाँको चेतावनी छ।
“अहिले नै सडक नियमकाे उचित पालना नगर्ने हो भने आगामी पाँच-सात वर्षमा एम्बुलेन्ससमेत हिँड्न नसक्ने अवस्था आउने निश्चित छ।
नेपालमा एक स्थानमा दर्ता भएको सवारी साधन देशभर सञ्चालन गर्न पाउने व्यवस्थाका कारण देशका विभिन्न स्थानमा दर्ता भएका सवारी काठमाडौं उपत्यकामा समेत आउने गरेका छन्। यसले उपत्यकाको सवारी चाप थप बढाएको उहाँको भनाइ छ।
उहाँले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने र सरकारी नीतिमार्फत ठूला सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिने हो भने निजी सवारीको चाप घटाउन सकिने बताउनुभयो।
तीव्र गति र मादक पदार्थ सेवन मुख्य जोखिम
काफ्लेका अनुसार पछिल्लो समय मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति पनि चिन्ताजनक रूपमा देखिएको छ। तीव्र गति र मादक पदार्थ सेवनका कारण हुने दुर्घटनामा गम्भीर मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो।
“मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाउँदा निर्दोष सडक प्रयोगकर्ताको समेत ज्यान जाने गरेको छ। यसलाई सामान्य रूपमा लिन मिल्दैन,” उहाँले भन्नुभयो।
उहाँका अनुसार दुर्घटना नहुँदासम्म गन्तव्यमा केही छिटो पुगिएला, तर दुर्घटना भएमा त्यसबाट हुने क्षति, उपचार, अंगभंग र परिवारले भोग्नुपर्ने समस्या अत्यन्त ठूलो हुन्छ।
दुईपाङ्ग्रे सवारी बढी जोखिममा
उपत्यकामा सञ्चालन हुने सवारी साधनमध्ये करिब ८२ प्रतिशत दुईपाङ्ग्रे रहेको काफ्लेले बताउनुभयो। गन्तव्यमा छिटो पुग्ने हतार र तीव्र गतिका कारण दुईपाङ्ग्रे सवारी बढी जोखिममा पर्ने गरेको उहाँको भनाइ छ।
ट्राफिक प्रहरीले गर्ने कारबाहीमध्ये करिब ७५ प्रतिशत दुईपाङ्ग्रे सवारीसँग सम्बन्धित रहेको उहाँले जानकारी दिनुभयो।
पछिल्लो समय पठाओ, टुटल, याङ्गोजस्ता राइड सेयरिङ तथा व्यावसायिक प्रयोजनका दुईपाङ्ग्रे सवारीसमेत दुर्घटनामा पर्ने क्रम देखिएको भन्दै उहाँले सम्बन्धित चालक, सेवाप्रदायक कम्पनी र सरकारी निकायलाई थप सचेत हुन आग्रह गर्नुभयो।
एक ट्राफिक प्रहरीको भागमा १३ सय सवारी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा करिब १ हजार ६ सय ट्राफिक प्रहरी परिचालन हुने गरेको काफ्लेले बताउनुभयो।
उपत्यकामा सञ्चालन हुने सवारीको संख्याको तुलनामा हेर्दा एक जना ट्राफिक प्रहरीले औसतमा करिब १ हजार ३ सय सवारी साधनको निगरानी गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।
“सवारीको संख्या अत्यधिक छ, तर ट्राफिक प्रहरीको जनशक्ति सीमित छ। यस्तो अवस्थामा प्रविधिको प्रयोग र नागरिकको सहयोगबिना ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन्छ,” काफ्लेले भन्नुभयो।
उहाँले सडक नियम पालना गर्नु ट्राफिक प्रहरीको डरका कारण नभई आफ्नै सुरक्षा र अरूको जीवन रक्षाका लागि आवश्यक रहेको बताउनुभयो। सडक नियमको पालना र जिम्मेवार सवारी संस्कार विकास गर्न सके दुर्घटना, जाम र मानवीय क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ।


