निर्लज्ज छन् त्यसैले जानी जानीको लोभ देखाउछन्
कहिले सुरा त कहिले जवानीको लोभ देखाउछन्
फसाउन सकिदैन भन्ने थाहा हुदा हुदै पनि हजुर
यो महासागरलाई फेरि पानीको लोभ देखाउछन्
क्षमता सकिदैछ मात झर्दैछ सोच्नु पर्थ्यो
विश्वासमा कसैले घात गर्दैछ सोच्नु पर्थ्यो
मेरो पिठ्युमा छुरा रोप्यौ तिमी आफै मर्यौ
ठक्कर यहाँ जुमनसँग पर्दैछ सोच्नु पर्थ्यो
कसैलाई ‘आफ्नो’ भन्न पनि कसैको पिरिय हुन पनि
गाह्रो गाह्रै छ मान्छेलाई अचेल मानवीय हुन पनि
आफूले राम्रो सोचेर के गर्नु? संसार नराम्रै भइदिन्छ
डर डर पो लाग्छ मलाई हजुर धेरै आत्मीय हुन पनि
अरे वाह साथी, क्या दामी लेखाइ छ भन्न सक्दैनौ ?
साथीको खुसीमा खुसी मलाई छ भन्न सक्दैनौ ?
ईर्ष्याले, रिसले जतिनै जले पनि भित्र भित्र तिमी
एकचोटी हाँसेर ल ल बधाई छ भन्न सक्दैनौ ?
रोपियो सम्बन्ध सर्ने नसर्ने त समयले बताउला
सम्बन्धले सुवास छर्ने नछर्ने त समयले बताउला
मुखले त मुस्काएर जे भन्दिए पनि हुन्छ हजुर
बिश्वास र भरोसा गर्ने नगर्ने त समयले बताउला
जुमन किरण
महालक्ष्मी ०९ ललितपुर


