पैसा होइन, सेवा कमाउने ध्येय : रत्नबहादुर थापाको संघर्ष र समर्पण

+
-

स्वस्थ्य क्षेत्रमा समाजसेवी काेही छन् ? भनी कसैले साेधेभने जाे काेहीले एक छिन साेचेर थाहा छैन भन्छ हाेला ! तर कसै-कसैले रत्न बहादुर थापालाई चिनेका छन् भने भन्न सक्छन् ,` नसर्ने राेगकाे सचेतना र राेकथाममा लागि रहेका छन् । उनी यस्ता व्यक्ति हुन मुटु विरामीले पक्का पनि सम्झने नाम हो ।

विकट पहाडी जिल्ला ओखलढुंगामा जन्मेका रत्न बहादुर थापा `विपन्नका लागि स्वास्थ्य नेपाल´को अध्यक्ष हुन्। उनीआजपनि बिरामीको उपचार र बिरामीहरूका लागि आवश्यक सहयोगको खोजीमा निरन्तर लागिपरेका छन् ।

थापाकाे यो कुनै व्यवसाय होइन,विशुद्ध सामाजिक सेवा हो। उनी मुटुरोग र स्वास्थ्य समस्यामा परेका बालबालिकालाई सहयोग जुटाउने काम खटिएका छन् । उनको संस्थाले मुटुरोग के हो ? मुटुमा समस्या कसरी आउँछ र यसबाट कसरी बच्ने ?भन्ने उपायका बारेमा सचेतना गराउने काम गर्छ।

टुकी संवादमा उनी भन्छन् ,`समस्यामा परेकाहरूलाई उपचारको प्रबन्ध मिलाउनु मेराे धर्म हो । त्यही सेवालाई मैले कर्तव्य ठानेको छु । मुटु राेग साथै नसर्ने राेगकाे शिविर चलाउनु,क्याम्पियन गर्नु,अभिमुखिकरण कक्षा संचालन गर्ने काममा व्यस्त हुन्छु । ´´

पूर्वका धेरै जिल्लामा स्वस्थ्य शिविर चलाएका उनले आगामी दिनमा देशका अन्य भूगोलमा पनि जाने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको खुदुनाबारीमा भएको मुटुरोग सम्बन्धी स्वास्थ्य शिविरमा स्वास्थ्य अभियन्ता भनेर सम्मानित हुन् पाउँदा समाजमा आफ्नो कदर भएको अनुभव सुनाउँदै थापा भावुक बनेका थिए।

उनकाे उदेश्य पैसा कमाउनु होइन,फेरि सामाजिक काममा सहयोगी संस्थाहरुकाे आर्थिक भरमा चल्नु पर्ने भएकोले आफुसँग गाडी भाडा पनि नहुने गुनासाे सुनाए। स्वास्थ्य क्षेत्रमा गरिब र विपन्नको लागि उपचारमा सहज पहुँच उपलब्ध हुनुपर्छ भन्ने मान्यता राख्ने थापा आर्थिक अभावकै कारण जो कोही उपचार अभावले अकालमा ज्यान गुमाउन नपरोस् भन्छन् ।

थापाले विभिन्न संघसंस्था र निकायको समन्वयमा विशेषज्ञ डाक्टर सहितको हेल्थ क्याम्प राख्ने गरेका छन् । राेगको पहिचान गरी सम्बन्धित निकायमा रेफर गर्छन् । उनले गर्ने यस्ता काममा स्थानीय र प्रदेश सहित केन्द्र सरकारको साथ र सहयोग छ।

थापाकाे संघर्ष
उमेरले ५३ बर्षका थापा ६ वर्षको उमेरमा भारतको सिक्किम पुगे। पुगेका बढेका लखनतरे बा (खेमलाल पाण्डे) बाट संस्कारसंस्कृति सामाजिक सेवा भाव र नैतिक शिक्षाको आचरण सिकेको बताउँछन्। बाटोमा गरिब अपाङ्ग घाइतेलाई बाटो काटाउने दिनदुःखी र गरिबहरूलाई साथ सहयोग गर्ने कुरा सिकेको थापाको भनाइ छ। ‘संगत गुनाको फल’ भने जस्तै लखनतरे बाकै संगतले आफूले जीवनमा असल कर्म गर्ने शिक्षा सिकेको भन्दै थापा भन्छन्, ‘लखनतरे बा आफ्नो यस क्षेत्रका गुरु हुन्। सरसफाइ, आत्मअनुशासन आचरण नैतिक शिक्षादेखि जीवन र जगतका थुप्रै व्यवहारिक कुराहरू मैले सिकेको छु।’

उनी ०६३ सालमा भारतबाट नेपाल फर्किएका हुन्। त्यसपछि सामाजिक सेवामा समर्पित थापा दीनहीनका लागि भराेसा बनेका छन्। उनलाई मुटु रोगका पिता डा. भगवान कोइराला, मुटुरोग विशेषज्ञ अनिल भट्टराई, वरिष्ठ बालरोग विशेषज्ञ डा. मनिष कोइराला, जस्ता विशेषज्ञ डाक्टर र स्वास्थ्य संस्थाहरूको पनि साथ र सहयोग छ।

नेपालमा नसर्ने रोगबारे जनचेतना जगाउनेदेखि खानपिन र आचरणमा शुद्धताका बारेमा सचेतना जनतालाई जागृत गर्ने काममा उनी लागिरहेका छन् । स्वास्थ्य सेवामा एक हजार २ सय ४८ बालबालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरिएकोमा ३६ जना बालबालिका रोगी भेटिएको र मुटुरोगका बालबालिका समेत भेटिएको उनकाे दाबी छ। दूरदराजमा यस्ता समस्या भएका धेरै मानिसहरू हुन सक्ने उनकाे अनुमान छ।

विश्वमा जस्तै नेपालमा पनि नसर्ने रोगका बिरामीहरू दिन प्रतिदिन बढ्दो क्रममा रहेको भन्दै खानपिन रहनसहन आहारविहार जीवनशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। आफैंले उत्पादन गरेको घिउ खाने ठाउँमा आयातित तेल र अखाद्य खानपिन बढेको कारण पनि स्वास्थ्य समस्या बढेको उनको भनाइ छ।

‘आफूले गरेको सानो काम र सहयोग राज्यको लागि त केही होइन तर, एउटा व्यक्तिको लागि सबैथोक हुँदै रहेछ’, थापा भन्छन्, ‘धनीले त ठूला सेवा लिन सक्छन्, तर गरिब र विपन्न अनि पहुँच नभएकाहरूलाई सहयोग गर्नु मेरो दायित्व र कर्तव्य हो। उनी आफ्नो सम्पूर्ण जीवन यसै काममा समर्पण गर्ने बताउँछन्। ‘दिनहीन र विपन्नको लागि सेवा र सहयोग गर्ने हो सबै काम आफैले मात्र गर्न सकिँदैन। राज्य, संघसंस्था र सहयोगी निकायहरूको खोजी गर्ने हो। उनीहरूको पुलको काम गर्ने हो,’ उनी थप बताउँछन्।

देशका सबै प्रदेशका धेरैजसो जिल्लामा सेवा प्रदान गरेका थापा मधेश प्रदेश देशको स्वास्थ्य क्षेत्रको हिसाबले सबै भन्दा पछाडि भएको ठान्छन्। सामाजिक सेवा भावको प्रशंसा गर्दै संविधान दिवसको अवसरमा नेपाल सरकारले २०७७ सालमा ‘समाजसेवा रत्न पदक’ समेत दिएकाे थियो थापालाई। तर उक्त पदक लिन आफू त्यस समारोहमा सहभागी नभएर बिरामीको सेवामा उपत्यका बाहिर भएको वास्तविकता सुनाउँछन्। त्यसबेला आफूले पदक लिन भन्दा बिरामीको सेवामा महत्व दिएको उनी बताउँछन्।

सेवा भावमै रमाउन पाउँदा आफूलाई खुशी लाग्ने थापाको भनाइ छ। ‘यस कार्यमा संस्थाका उपाध्यक्ष कोपिला श्रेष्ठ, महासचिव प्रताप शाही, सचिव टेकबहादुर बस्नेत, बुद्धि खनाल, लिला आचार्य, जीवन लिङ्थेप, डा.अरुण शाही सहितका थुप्रै व्यक्तिहरू छन् । साथै सहयोगी, स्वयंसेवक र विशेषज्ञ डाक्टर र स्वास्थ्य विशेषज्ञहरूको साथ सहयोग र समर्थन रहेकाेमा उनले खुशी व्यक्त गरेका छन्