सहचालकदेखि बस मालिकसम्म : तीन दशकको यात्रामा श्याम पुडासैनीको अनुशासन र संघर्ष

+
-

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका- १२ मा किसान परिवारमा जन्मिएका श्याम पुडासैनीले सार्वजनिक यातायात क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताइसकेका छन्। २०५४ सालदेखि २०८४ सालसम्म करिब ३० वर्षको यात्रामा उनले सहचालकदेखि चालक हुँदै आफ्नै बस सञ्चालनसम्मको अनुभव हासिल गरेका छन्। उनी बसका मालिक पनि हुन्।

२०३६ साल माघमा भीमबहादुर र शुभद्रा पुडासैनीका चार छोरामध्ये साइँलो छाेरा पुडासैनीले स्थानीय चुवाडी माध्यमिक विद्यालयबाट शिक्षाराम्भ गरेका थिए । २०५१ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी २०५२ सालतिर काठमाडौं आए। पारिवारिकि माइली दिदि काठमाडौमा बस्ने भएकोले उनलाई त्यहाँकाे बसाइ खासै असहज भएन्। काठमाडौं बसाइसँगै उनको जीवनले नयाँ मोड लियो।

केही समय काठमाडौमा टिक्नका लागि उनले जे भेटिन्छ त्यही काम गरे। सहचालकमा २०५४ साल तिर काम गर्ने मौका पाए। जब उमेरले १८ वर्ष पुगे उनले नेपाल प्रहरीमा समेत सेवा गरेका थिए। दाङको भालुवाङमा भएको आक्रमणपछि प्रहरीको जागिर छाडेर उनी सवारी क्षेत्रमा प्रवेश गरेका हुन्। त्यस क्रममा वीरबहादुर लामा भन्ने व्यक्ति उनकाे जीवनमा भगवान सरि प्रकट भए। उनले धुलिखेल – काठमाडौ चल्ने बसमा सहचालकको अवसर दिएका थिए । त्यही क्षेत्रमा काम गर्दा- गर्दै उनले चालक बन्ने अवसर पाए।

हेभी लाइसेन्स लिएपछि व्यावसायिक यात्रा
२०५९ सालमा हेभी सवारी चालक अनुमतिपत्र लिएपछि पुडासैनीको चालक जीवन यातायातको क्षेत्रमा थप सक्रिय र व्यवस्थित भयो। धुलिखेल-काठमाडौं रुटमा लामो समयदेखि सवारी चलाउँदै आएका उनी इमानदार चालक भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनकाे पहिलो प्राथमिकता यात्रु सुरक्षा हो ।

सडकमा हुने दुर्घटनामा चालकले मात्रै चाहेर पनि हरेक अवस्थामा गल्ती रोक्न नसक्ने उनकाे अनुभव छ। विशेषगरी यात्रु चढाउने-ओराल्ने क्रममा ढोका खुला राख्ने, ट्राफिक नियम उल्लंघन गर्ने तथा साना सवारीले बसको लेनमा प्रवेश गर्ने कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको छ।

ट्राफिक “अनुशासन नै सबैभन्दा ठूलो कुरा हो,” भन्ने मान्यता राख्ने पुडासैनी चालकले ट्राफिक नियमको पालना र यात्रुप्रतिको जिम्मेवारीलाई सधैं प्राथमिकतामा राख्नुपर्ने बताउँछन्

साना सवारीले बढाउँछ जोखिम
धुलिखेल-काठमाडौं सडकखण्डमा चल्ने विभिन्न कम्पनीका बसकाे प्रतिष्पर्धाले कतिपय दुर्घटना जाेखिम बढ्ने गरेकाे छ। साथै साना सवारीबीच हुने प्रतिस्पर्धा तथा लेन अनुशासन पालन नगर्ने सभ्य चालकमा पर्दैनन् ।

उनले मयुर र महानगर लगायतका सवारीसँग भएका दुर्घटनाहरू प्रत्यक्ष देखेको उल्लेख गर्दै स्थानीय लेनमा साना सवारीको अनियन्त्रित प्रवेशले समस्या बढाउने बताए। उनका अनुसार ट्राफिक सचेतना कार्यक्रम भइरहे पनि व्यवहारमा त्यसको प्रभावकारीता अझै पर्याप्त देखिएको छैन। यात्रु ओराल्ने-चढाउने स्थान अर्थात् बस पकेटमा समेत मोटरसाइकल तीव्र गतिमा प्रवेश गर्दा दुर्घटना हुने गरेको उनको भाेगाइले देखाउँछ। भक्तपुरको नलिन्चाेकमा साँझको समयमा यात्रु ओराल्ने क्रममा मोटरसाइकलले बसलाई ठक्कर दिएको घटनाले सधै झस्काईरहने भन्दै उनी केही क्षण भावुक पनि देखिए ।

आफै बस मालिक र सञ्चालक
पुडासैनीले २०७२ सालमा थाेरै लगानीबाट आफ्नो बस किनेर कुदाउन थाले । सुरुमा गाडी धनीलाई ५ लाख दिएर अरु किस्ताबन्दीमा तिर्ने गरि धुलिखेल – काठमाडौ बस सञ्चालनको यात्रा सुरु गरेका थिए। २०७७ सालमा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख रुपैयाँ ऋण लिएकाेले आफू साहु पनि र ऋणीपनि भएको बताउँछन् । उनकाे बा ३ ख ३२६० नम्बरको बस नियमितरूपमा काठमाडौ – धुलिखेल सडकमा देख्न सकिन्छ। साथै उनी ठट्यौली पारामा भन्छन्,“देख्न मात्रै के? चढ्नु पनि भएको हाेला ! उनले उक्त ऋणको मासिक किस्ता करिब २० हजार रुपैयाँ नियमित बुझाउनु पर्छ।

पुडासैनीले काभ्रे बस सेवा प्रालि. अन्तर्गत धुलिखेल-रत्नपार्क रुटमा सवारी सञ्चालन गर्दै आएका छन्। समितिमा रहेका करिब १६० वटा सवारीमध्ये दैनिकी करिब ८० वटा बसले सेवा दिदै आएकाे आफुलाई जानकारी भएको उनी बताउँछन् । धुलिखेल-रत्नपार्कबाहेक अरु बस साेही समिति मार्फत रोशी, भकुण्डेबेँसी, नाला, रवि लगायतका क्षेत्रमा सञ्चालन हुने गरेका छन्।

दैनिक आम्दानीसँगै बढ्दो खर्च
सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने चालक तथा सहचालकको आम्दानीसँगै खर्चको दायित्व पनि उत्तिकै रहेको पुडासैनी बताउँछन्। मिनी बस चालककाे मासिक तलब ५ हजार छ भने दैनिक २ हजार भत्ता हुन्छ। सहचालककाे भने ३ हजार तलब र दैनिक १ हजार भत्ता दिने गरिन्छ। चालकको दैनिक पारिश्रमिक, खाना-खाजा खर्च, यातायात समितिलाई बुझाउनुपर्ने रकम, सवारीको बीमा तथा मर्मतसम्भारलगायतका खर्चले यातायात व्यवसाय सञ्चालनमा चुनौती थपेकाे उनकाे अनुभव छ। यातायात समितिलाई मासिक ७ हजार रुपैयाँ बुझाउने गरेका छन् । बीमालाई वार्षिक ५० हजार र स्वतन्त्र यातायात मजदुर संगठनलाई दैनिक १ सय ६० रुपैयाँ तिर्नु पर्ने छ।

दुर्घटना र बीमाको चिन्ता
सार्वजनिक यातायातमा दुर्घटनाको जोखिम सधैं रहने भएकाले चालक र मजदुरको उपचार तथा बीमा व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने पुडासैनीको माग छ।

स्वतन्त्र मजदुर संगठनलगायतका संस्थाबाट उपचारमा सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै उनले दुर्घटनामा परेका चालक तथा मजदुरलाई सहज रूपमा उपचार सुविधा उपलब्ध गराउन अझै पनि चुनौती छ। चालक बिरामी परेमा,दुर्घटना भएमा उपचारकाे लागत बिल तथा कागजात पेस गरेमा सहयोग पाउन सकिन्छ ।

‘अनुशासन भए दुर्घटना घटाउन सकिन्छ’
तीन दशकभन्दा लामो समय सार्वजनिक यातायात क्षेत्रमा बिताएका पुडासैनीको अनुभवमा सडक दुर्घटना न्यूनीकरणका लागि चालक मात्रै जिम्मेवार भएर पुग्दैन। यात्रु, मोटरसाइकल चालक, निजी सवारी चालक र ट्राफिक व्यवस्थापनमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको धारणा छ।

बसले यात्रु चढाउने-ओराल्ने समयमा साना सवारीले धैर्य गर्ने, तोकिएको लेनको पालना गर्ने र चालकले पनि ढोका ढाेका लगाउने र यात्रु सुरक्षामा ध्यान दिने हो भने दुर्घटना घटाउन सकिने उनी बताउँछन्।

लामो समयदेखि यात्रु बोकेर सडकमा दिनरात कुद्ने पुडासैनीका लागि बस चलाउनु केवल रोजगारी मात्र होइन, यात्रुको जीवनसँग जोडिएको जिम्मेवारी पनि हो। यही जिम्मेवारीलाई आत्मसात् गर्दै उनी आज पनि यात्रुलाई सहि गन्तव्यमा पुर्याउन सचेत भएर गाडी चलाउँछन् । सडकमा अनुशासन पालन गर्दै सुरक्षित यात्रा गराउन उनी अनुशासित चालककाे भूमिकामा निरन्तर अघि बढाइरहेका छन्।

(टुकी विशेष )