काठमाडौं । धेरै मानिसले गर्धन कालो हुनुको कारण सरसफाइको कमी वा फोहोर जम्नु मात्र हो भन्ने विश्वास गर्छन्। तर चिकित्सकहरूका अनुसार यस्तो सोच सधैं सही हुँदैन। कतिपय अवस्थामा गर्धनको कालोपन शरीरभित्र विकसित भइरहेको स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।
चिकित्सकीय रूपमा यस अवस्थालाई एक्यान्थोसिस निग्रिकान्स भनिन्छ। यो समस्या विशेषगरी इन्सुलिन प्रतिरोध, अत्यधिक तौल, हार्मोनको असन्तुलन, पीसीओएस तथा केही व्यक्तिमा वंशाणुगत कारणले देखिन सक्छ। यस्तो अवस्थामा गर्धनको छाला बाक्लो र कालो देखिन थाल्छ।
विशेषज्ञहरूका अनुसार केवल गोरो बनाउने क्रिम वा घरेलु उपाय अपनाएर यो समस्या स्थायी रूपमा समाधान हुँदैन। यसको उपचारका लागि सर्वप्रथम वास्तविक कारण पत्ता लगाउनु आवश्यक हुन्छ। यदि इन्सुलिन प्रतिरोध, मोटोपना वा पीसीओएस जस्ता समस्या छन् भने तिनको उचित उपचारसँगै जीवनशैलीमा सुधार ल्याउँदा कालोपन पनि क्रमशः कम हुन सक्छ।
यदि गर्धनको कालोपन लामो समयसम्म रहिरहन्छ वा झन् बढ्दै जान्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ। आवश्यक परेमा चिकित्सकले केमिकल पिल, लेजर उपचार वा अन्य आधुनिक उपचार विधि सिफारिस गर्न सक्छन्।
यस्तो अवस्थामा केही स्वास्थ्य परीक्षण पनि आवश्यक हुन सक्छ। विशेषगरी फास्टिङ ब्लड सुगर र फास्टिङ इन्सुलिन परीक्षणले इन्सुलिन प्रतिरोध वा मधुमेहसँग सम्बन्धित समस्या पहिचान गर्न सहयोग पुर्याउन सक्छ।
दैनिक हेरचाहमा पनि केही सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। चिकित्सकको सल्लाहमा रेटिनोइड, युरिया वा ल्याक्टिक एसिडयुक्त क्रिम प्रयोग गर्न सकिन्छ। साथै गर्धनलाई धेरै जोडले रगड्ने, ब्लीच वा कडा रसायन प्रयोग गर्ने तथा अत्यधिक टाइट कपडा लगाउने बानीबाट टाढा रहनुपर्छ।
नियमित रूपमा छाला सफा राख्ने, मोइस्चराइजर र सनस्क्रिन प्रयोग गर्ने तथा सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउने बानीले पनि छालाको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूको भनाइ छ।

