काठमाडौं । नेपाल सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेपछि मन्त्रालय तथा मातहतका निकायहरूको नयाँ संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वेक्षण सम्पन्न भएपछि केही निकायमा कर्मचारी फाजिलमा पर्न सक्ने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नपठाउन निर्देशन दिएको छ।
विज्ञप्तिअनुसार, सचिव बैठकको निर्णयबमोजिम फाजिल कर्मचारीको व्यवस्थापन भइसकेपछि वा ओ एन्ड एम सर्वेक्षणबाट स्वीकृत नयाँ दरबन्दीअनुसार रिक्त पद कायम भएमा मात्रै नियमित प्रक्रियाबाट लोक सेवा आयोगमा पदपूर्तिका लागि माग गर्न सकिने व्यवस्था गरिएको छ।
सरकारले मन्त्रालय पुनर्संरचनासँगै कर्मचारी व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको जनाएको छ।


