“गाँठो परेको मन”
कवयत्री :- कालिका त्रिपाठी पन्थ
प्यारो काख छोडेर मातृ ममता छाडेर गाउँ घर
बाबाको रेखदेख देखि दुर भै आएछु धेरै पर
नौलो छ परिवेश चिन्दिन कोहि सुनसान लाग्छ शहर
दु:ख च्यापेर काखी परदेशी भए कुल्चेर सारा रहर।
चौतारी छोडियो छोडे सब सखा छोडेर आफ्ना जन
अश्रु धारा बहाइ छोडे प्रीयसी पारेर गाँठो मन
आफ्ना रितिरिवाज संस्कृति सबै सम्झेको छु झल्झली
घोटी हाड बिदेशमा यो पसिना काटेको छु खल्खली।
साहुको ऋण तिरे बारि निखनी आउने छु त्यै आस छ
निधक्कै बनी भन्न लाग्छ नि मन मेरो पनि बास छ
झरना झर्किदो हो नदि सुसेलेर खोज्दै हिंडेकि होलिन
तालको पानी जमेसरि मुटु जमाइ सम्झेर प्यारी रोलिन।
बा को बोझ बिसाउने मेरो पिठ्युँ टाढा छ के सोच्दो हुन्
आमालाई मेरा हरेक लवजले काँडा बनी घोच्दो हुन्
हुँदैनन परदेशमा रहरले आउने छोडी गाउँघर
बेरोजगारी भएपछी नभएझैं हुनुपर्यो ठाउँ थर।
हिमाल् राम्रो थियो पहाड र तराई राम्रो थियो जंगल
चौतारी देउराली पाखो पखेरो थिए कुशल मंगल
सम्झी हर चिज हर पला र घडिमा बस्दैन यो मन थिर
लाग्छ न्यास्रो मेरो त्यो जन्मभुमिको बल्झन्छ सारा पिर।
सुशासन देशमा नभएर होला शान्ती मरेकी थिइन्
अस्थिर राजनिती रुमल्लेर होला कान्ति झरेकी थिइन्
छोरी चेलिहरु समाजको बीच दिउँसै लुटिन्थे कठै
अराजनितिको लाठिले नगरमा युवा कुटिन्थे तसै।
सुन्छु संसदमा परेड खेलदा कुर्सी लडेको छ रे
त्यसकै भेद असह्य भै मनुजको धेरै अधिकार मरे
पैसा किन्न बेचिएको यो पसिना बन्यो बिदेशमै आहाल
भ्रष्टाचारले पिल्सिएको मेरो देश खप्दै छ सारा बेहाल ।
केही बेर सहिदेउ मेरो देश फर्केर आउनेछु
तिम्रो रुप सिँगार्न पाखुरिभरी हिरा मोति ल्याउनेछु


