श्रमशक्ति अभावको चुनौती बढ्दो, जनसाङ्ख्यिक लाभ उपयोग गर्न विज्ञको सुझाव

+
-

काठमाडौँ । जनसङ्ख्या क्षेत्रका विज्ञहरूले बढ्दो आन्तरिक तथा बाह्य बसाइँसराइका कारण युवाशक्ति पलायन हुँदा देशमा श्रमशक्तिको अभाव बढ्नुका साथै उत्पादनशील क्षेत्रमा अपेक्षित आर्थिक लाभ लिन चुनौती थपिएको बताएका छन् ।

नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचनालाई उचित नीतिगत सम्बोधन गर्दै उपलब्ध जनसाङ्ख्यिक लाभको अधिकतम उपयोग गर्न सके देशको समृद्धि र समाजवाद निर्माणको आधार बलियो हुने उनीहरूको भनाइ छ ।

घट्दो जन्मदर, बढ्दो ज्येष्ठ नागरिकको सङ्ख्या, युवा जनसङ्ख्याको बाहुल्य तथा आश्रित जनसङ्ख्यामा आएको परिवर्तनलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर) को बहस शृङ्खलाअन्तर्गत आज आयोजित कार्यक्रममा ‘बसाइँसराइले नेपाली समाजमा ल्याएको संरचनागत परिवर्तन र यसले नेपालमा समाजवाद निर्माणमा पार्ने प्रभाव विश्लेषण’ तथा ‘नेपाली समाजवादी दृष्टिकोणमा बदलिँदो जनसाङ्ख्यिक संरचना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक पद्मप्रसाद खतिवडाले बसाइँसराइको बृहत्तर र बहुआयामिक सम्बन्धलाई बुझेर मात्र समाजवादको आगामी दृष्टिकोण निर्माण गर्न सहज हुने बताउनुभयो ।

उहाँले समाजवादले रोजगारी, समानता, सामाजिक स्वामित्व तथा उत्पादनका साधनमा पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै नेपालमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।