काभ्रेपलाञ्चोक, भाद्र २९
सोह्र श्राद्धको आज पञ्चमी तिथि हो । हिन्दू धर्मावलम्बीहरुले आफ्ना पितृहरुको स्मरणमा सोह्र श्राद्ध गरिरहेका छन् । यो समयमा पृथ्वी र स्वर्गको बिचमा रहेका पितृहरूको मोक्षको कामना गर्दै उनीहरुले वैतरणी नदी तर्न पाउँछन् भन्ने जनविश्वास रहिआएको छ।
आश्विन कृष्ण पक्षमा दिवंगत पितृहरुलाई स्मरण गर्दै दान पुण्य गर्नसकेमा पितृहरूले सिधै प्राप्त गर्छन् भन्ने मान्यता छ । सोह्र श्राद्धको अवसर पारेर पितृ कार्य गर्नाले पितृले पनि आशीर्वाद दिन्छन् । पितृहरूले कहिलेपनि आफ्ना सन्ततीहरु दुखी, गरिब भएको देख्न सक्दैनन् र बिषेश आशिर्वाद प्रदान गरिरहेका हुन्छन् भन्ने कुरा शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ।
विशेषगरी पितृहरूको देहबासन भएको तिथि र सोह्र श्राद्ध को तिथि पारेर वर्षमा दुईपटक श्राद्ध गर्ने गरिन्छ। यस अवसरमा हिन्दू धर्मावलम्बीहरूको घरघरमा पितृ कार्यहरु भइरहेका छन्।
देवालय तथा नदी किनारहरूमा पनि श्राद्ध गर्ने भक्तजनहरूको भिड देख्न सकिन्छ ।यतिखेर गोकर्ण मन्दिर, पाशुपत क्षेत्र , गुहेश्वरी लगायत देशभरीका अन्य देवालय तथा तीर्थस्थलहरुमा श्राद्ध कर्म गर्नेहरूको लाइन देख्न सकिन्छ।