आजबाट सोह्र श्राद्ध प्रारम्भ

+
-

आज बाट सोह्र श्राद्ध प्रारम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंसी सम्म १६दिनलाई सोह्र श्राद्ध भनिन्छ। नेपालीहरूको महान चाड विजयादशमी शुरु हुनुभन्दा अगाडि सोह्र श्राद्ध सुरु हुन्छ। पितृपक्ष र दुर्गा पक्ष रहेकोमा , पितृपक्षमा आफ्ना पितृहरूको सम्मान सुरु तर्पण गर्ने गरिन्छ र दुर्गा पक्षमा माता भवानी दुर्गाको पूजाआराधना गर्ने गरिन्छ।
सोह्र श्राद्ध शुरु भएपछि भक्तले नुहाइधुवाइ गरी ,चोखो खानेकुरा खाएर ,शुद्ध बसेर आफ्ना पितृहरूको तिथी परेको दिन पितृहरूलाई तर्पण दिने चलन रहेको छ। सोह्र श्राद्धमा गरिएको पितृ कार्यले आफ्ना कुलमा रहेका सबै पितृहरू खुसी हुने र आशीर्वाद दिने विश्वास रहिआएको छ। श्राद्धका दिन केशरि ,फुल , अक्षता, तिल ,जौ ,नैवेद्द र अन्य मेवामिष्ठान्न गरी सोर्ह थरि चिज -बस्तुले पूजा स्थल सजावट गरिन्छ। पितृपक्षमा पितृहरु स्वर्गलोकबाट पृथ्वीलोकको नजिकै आएर बस्छन् र आफ्ना सन्ततीहरुबाट केही चिज प्राप्तिकालागि आशा गरिरहेका हुन्छन् भने कुरा शास्त्रहरूमा बताइएको छ। त्यो दिन आफन्त इष्टमित्रलाई पनि डाकेर भोजन गराउने चलन प्रचलन रहेको छ।
यो श्राद्ध मध्यान्ह १२ बजेपछि गर्नाले महालय श्राद्ध गरे बराबर पुण्य प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको पण्डित तथा ज्योतिष अमृत पराजुलीले बताउनुभयो। हिन्दू परम्पराअनुसार पितृ कार्य सम्बन्ध नगरीकन देवकार्य गर्न नहुने मान्यता रहिआएको छ। आफ्ना कुल पितृहरू खुसी भएनन् भने गरेको देवकार्य सफल हुँदैन भन्ने जनविश्वास रहिआएको छ। त्यसैले पहिला सोह्र श्राद्ध कर्म गरेपछि मात्रै दुर्गा पक्षमा गरिने देवीको पूजा गर्नुपर्ने पंण्डित पराजुलीको भनाइ छ।