दाङ, २६ कात्तिक । तुलसीपुरका महिलाहरूले देउसी–भैलोबाट सङ्कलित रु ५९ हजार ८४० रकममध्ये ३० हजार बराबरको सामान आइतबार तुलसीपुरस्थित वृद्धसेवा समिति तथा ज्येष्ठ नागरिक समाजलाई प्रदान गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१२स्थित उक्त समाजमा रहेका पाँच वृद्धवृद्धालाई न्यानो कपडाका साथै कार्यालय व्यवस्थापनका लागि कम्प्युटर उपलब्ध गराइएको देउसी–भैलोको नेतृत्वकर्ता तुलसीपुरमा स्थायी घर भई हाल जापानमा बस्दै आउनुभएकी शोभा खत्रीले जानकारी दिनुभयो ।
अन्य बाँकी रकम पनि सामाजिक काममा लगाउने जानकारी दिँदै उहाँले धेरैपछि आफ्नो जन्मभूमिमा कला र संस्कृतिको संरक्षणका लागि देउसी-भैलो खेल्ने अवसर प्राप्त भएकामा खुशी लागेको र सङ्कलित बाँकी रकम सामाजिक काममा लगाउन पाउँदा झनै खुशी भएको बताउनुभयो । सहभागी महिलाले तुलसीपुरका हिम्मती छोरी तथा बुहारी देउसी भैलो समूहको ब्यानरमा देउसी-भैलो खेलेका थिए । रासस


