काठमाडौँ । लोकप्रिय नेपाली सांगीतिक समूह नेपथ्यले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित मुक्त कन्सर्टमा आठ हजारभन्दा बढी दर्शकलाई नचाएको छ। गायक अमृत गुरुङको नेतृत्वमा प्रस्तुत नेपथ्यको सांगीतिक कार्यक्रममा विद्यार्थी तथा संगीतप्रेमीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा नेपथ्यले आफ्ना चर्चित गीत प्रस्तुत गरेको थियो। विश्वविद्यालयको अडिटोरियम हलमा दुईवटा गिटारको सहायताबाट समेत सांगीतिक प्रस्तुति दिइएको थियो।
कार्यक्रममा गुरुङले कर्णाली भेगमा सङ्कलन गरिएको गीत ‘कर्णालीका छाहिला’ लगायतका गीत प्रस्तुत गरेका थिए। साथै, ‘भास्सारै पासा रहन्छ’ र ‘सिञ्जा पत्रिका’ जस्ता गीतमार्फत नेपाली भाषा र मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने सन्देश दिएका थिए। नेपाली भाषालाई सबै मिलेर जोगाउनुपर्नेमा उनले जोड दिएका थिए।
देशमा विपद्का घटनाहरू भइरहेका बेला गायक गुरुङले आफ्नो गच्छेअनुसार सहयोग गर्न पनि सबैलाई आह्वान गरेका थिए। उनले ‘रातो र चन्द्र सूर्य’ गीत प्रस्तुत गर्दै कार्यक्रमको समापन गरेका थिए।
कार्यक्रममा कीबोर्डमा दिनेश राज रेग्मी, मादलमा सुन्दर महर्जन, ड्रम सेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य र गिटारमा निरज गुरुङले अमृत गुरुङलाई साथ दिएका थिए।
नेपथ्य समूहका अनुसार तिहारपछि ब्यान्डले नेपालका विभिन्न सहरमा सांगीतिक यात्रा गर्नेछ। त्यसैगरी, डिसेम्बर ७ मा अस्ट्रेलियामा पनि नेपथ्यले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।


