तीहारको अवसर पारेर चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ।
दाजुभाइबीचको आत्मीयता, प्रेम, विश्वास र भाइचाराको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतले पारिवारिक सम्बन्धको महत्त्वलाई उजागर गरेको छ।
गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको छ। डा. कृष्णहरि बरालको शब्द अर्जुन पोखरेलको संगीत रहेको गीतमा दाजुभाइबीचको सम्बन्धलाई मार्मिक ढंगले चित्रण गरिएको छ।
गीतको भिडियोमा अभिनेता हरिवंश आचार्यले युधिष्ठिरको पात्रका रूपमा बोलेको संवादसमेत समावेश गरिएको छ। भिडियोमा उनी भन्छन्, ‘मेरा भ्राताहरू समस्यै समस्यामा जेलिरहेका रहेछन्। ज्येष्ठ भ्राता भएको नाताले पनि म पृथ्वीलोकमै फर्कन चाहन्छु, इन्द्रदेव।’
उक्त संवादले दाजुभाइप्रतिको जिम्मेवारी, आत्मीयता र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिने भाव व्यक्त गरेको छ। साथै, यसले चलचित्रको मूल कथावस्तु र त्यसमा समेटिएको भावनात्मक गहिराइको संकेतसमेत गर्छ।


