काठमाडौ । पुर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
उनले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको पहलका लागि सरकारलाई धन्यवाद दिँदै यसबाट कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन्।
प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गरिएको स्मरण गराउँदै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको बताए।
उनका अनुसार सघन गृहकार्यपछि अघि बढाइएको प्रक्रिया सरकारबाट बाहिरिएसँगै रोकिएको थियो। अहिले पुनः अघि बढ्नु सकारात्मक भएको उनको भनाइ छ।
हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा नेपालले ठूलो फड्को मार्न सक्ने प्रचण्डले बताएका छन्।
देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा सार्वजनिक उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुने भन्दै उनले सरकारलाई प्रक्रिया परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरेका छन्।


