काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा राज्य व्यवस्था, सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘जहाँ सिंह नै छैन, त्यस ठाउँको नाम सिंहदरबार किन राख्नुपर्यो?’ भन्दै सिंहदरबारको नाम र त्यहाँको प्रशासनिक संरचनाप्रति टिप्पणी गरे। उनले सिंह नभएको अवस्थामा ‘सिंहदरबार’ नामलाई निरन्तरता दिन आवश्यक नरहेको बताए।
ढकालले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ जस्ता अन्य नाम राखिएको भए पनि हुने टिप्पणी गर्दै नामभन्दा पनि त्यसले प्रतिनिधित्व गर्ने शासन प्रणाली परिवर्तन हुनु आवश्यक रहेको धारणा राखे।
उनका अनुसार मुलुकको शासन सञ्चालन हुने प्रमुख केन्द्र अझै पनि पुरानो सोच, कार्यशैली र प्रशासनिक संस्कृतिबाट सञ्चालित भइरहेको छ। त्यसैले शासन प्रणालीमा समयानुकूल सुधार गर्दै नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।


