काठमाडौं । नेकपा (एमाले) का नेता गाेकुल बास्काेटाले सरकारको विरोधका लागि मात्र विरोध नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमाथि कटाक्ष गर्न सजिलो भए पनि सरकारले गरिरहेका काम, निर्णय तथा जनताका पक्षमा भएका प्रयासलाई पनि निष्पक्ष रूपमा मूल्याङ्कन गर्नुपर्ने बताएका हुन्।
बास्काेटाले सरकार आफ्नो जिम्मेवारीबाट नभागेको दाबी गर्दै आवश्यक काम र सुधारका प्रयासहरू निरन्तर रूपमा अघि बढिरहेको उल्लेख गरेका छन्। राजनीतिक पूर्वाग्रहका कारण सरकारले गरेका सकारात्मक कामसमेत नदेख्ने र हरेक विषयमा व्यंग्य तथा आलोचना मात्र गर्ने प्रवृत्तिले जनतासम्म सही सूचना नपुग्ने उनको भनाइ छ।
उनले सरकारको राम्रो कामलाई स्वीकार नगर्नु सरकारको कमजोरी नभई हेर्ने दृष्टिकोणको समस्या हुन सक्ने टिप्पणी गरेका छन्। सरकारका सकारात्मक पक्षलाई पनि निष्पक्ष रूपमा हेर्नुपर्नेमा जोड दिँदै उनले तथ्य र सत्यमा आधारित आलोचनाको पक्षमा आफू रहेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै बास्काेटाले, “आलोचना गरौँ, तर तथ्य र सत्यका आधारमा गरौँ। राम्रो कामको प्रशंसा र कमजोरीको रचनात्मक आलोचना नै स्वस्थ राजनीतिक संस्कार हो,” भनेका छन्। उनले सरकारका कामको निष्पक्ष मूल्याङ्कन गर्न तथा तथ्यमा आधारित सार्वजनिक बहसको विकास गर्न सबै राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्।


