सर्वदलीय सहकार्यमा नौ दलकाे संयुक्त अपिल

अ+
अ
अ-

काठमाडौं । सर्वदलीय बैठकले सुनसरी जिल्लामा भएका हिंसात्मक तथा संवेदनशील घटनाप्रति गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।

बैठकले हालैका घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। संयुक्त वक्तव्यमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकसँग अपिल गरिएको छ। आवेग र उत्तेजनाभन्दा संवाद र समझदारीमार्फत समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिइएको छ।

बैठकले लोकतान्त्रिक व्यवस्थामा देखिने असन्तुष्टि तथा विवादहरूको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न आग्रह गरेको छ।।

त्यस्तै, प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न सम्बन्धित पार्टीका संरचनाहरूलाई निर्देशन दिइएको छ। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग समन्वय गरी शान्ति र विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

“वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले), श्रमसंस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालका सहभागी प्रतिनिधीले हस्ताक्षर गरेका छन् ।