काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सुनसरीमा भएको हिंसात्मक घटनापछि आह्वान गरिएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूबाट अनुभव, सुझाव र प्रतिक्रिया लिइएको बताएका छन्।
बुधबार बिहान आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बैठकमा प्राप्त सुझाव र प्रतिक्रियामाथि गम्भीर छलफल भएको जानकारी दिए। उनका अनुसार बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायतका दलका प्रतिनिधिहरू सहभागी थिए।
उनले मुलुकको राष्ट्रियता, सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा बैठकमा साझा धारणा बनेको बताए। पछिल्लो समय बढ्दै गएको सामुदायिक तथा सामूहिक हिंसाको अन्त्यका लागि सबै पक्षले साझा प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले समस्या समाधानमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
लामिछानेले सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री बैठकमा सहभागी भएको पनि स्पष्ट पारे। साथै, दलीय भूमिकाबाट निर्वाह गर्नुपर्ने जिम्मेवारीमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
सरकारले के गरिरहेको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले प्रधानमन्त्री, गृहमन्त्री तथा सरकारी प्रवक्ताले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै रास्वपाले राजनीतिक दलका रूपमा निभाउनुपर्ने भूमिकालाई सक्रिय रूपमा अघि बढाएको बताए। त्यसकै निरन्तरतास्वरूप सर्वदलीय बैठकको आह्वान गरिएको उनको भनाइ थियो।


