आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालका लागि केवल एउटा प्रतियोगिता मात्र होइन, विश्वकपसम्म पुग्ने बाटो र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धा पनि हो। यस लिगमा नेपालसहित आठ राष्ट्र सहभागी छन्। यी टोलीले चार वर्षको अवधिमा एकअर्कासँग खेल्दै अंक संकलन गर्छन्। प्रतियोगिता सकिएपछि अंक तालिकाको आधारमा विश्वकप छनोट र ओडीआई मान्यताको भविष्य निर्धारण हुन्छ।
हाल नेदरल्यान्ड्समा नेपाल, नामिबिया र स्कटल्यान्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ। नेपालले यसअघि खेलेका दुई खेलमा हार बेहोरेको छ भने आज नामिबियाविरुद्ध तेस्रो खेल खेल्दैछ। नेपालका लागि प्रत्येक खेल अत्यन्त महत्वपूर्ण बनेको छ, किनकि प्रत्येक जितले अंक तालिकामा माथि उक्लिने सम्भावना बढाउँछ।
विश्वकप लिग–२ मा प्रत्येक टोलीले कुल ३६ खेल खेल्छ। सबै खेल सकिएपछि शीर्ष चार स्थानमा रहने टोलीले सिधै आईसीसी क्रिकेट विश्वकप क्वालिफायरमा स्थान बनाउँछन्। यद्यपि शीर्ष चारमा नपरे पनि शीर्ष ६ भित्र रहनु नेपालका लागि अत्यन्त आवश्यक छ, किनभने शीर्ष ६ टोलीले आफ्नो ओडीआई मान्यता कायम राख्छन्। सातौँ र आठौँ स्थानमा झर्ने टोली भने रेलिगेसनमा पर्ने भएकाले ओडीआई मान्यता गुमाउने जोखिममा रहन्छ।
ओडीआई मान्यता गुमाउनु कुनै सामान्य कुरा होइन। यसले अन्तर्राष्ट्रिय ५० ओभरका खेल खेल्ने अवसरमा असर पार्नुका साथै क्रिकेट विकासमा समेत प्रत्यक्ष प्रभाव पार्छ। ओडीआई मान्यता प्राप्त राष्ट्रलाई आईसीसीले नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर दिन्छ। । त्यस्तै, खेल सञ्चालन, म्याच अफिसियल, खेलाडी व्यवस्थापन तथा अन्य धेरै प्राविधिक खर्चमा पनि आईसीसीको सहयोग रहने भएकाले आर्थिक रूपमा समेत यो मान्यता निकै महत्वपूर्ण मानिन्छ।
नेपालले सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता प्राप्त गरेको थियो र त्यसयता लगातार आफ्नो मान्यता जोगाउँदै आएको छ। अहिलेको लिग–२ मा राम्रो प्रदर्शन गर्दै शीर्ष ६ भित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यतालाई निरन्तरता दिनेछ। यदि शीर्ष चारभित्र स्थान बनाउन सफल भयो भने विश्वकप क्वालिफायरमा सिधै प्रवेश गर्ने अवसर पनि प्राप्त हुनेछ। यससँगै नेपालले अबकाे चार वर्ष लगातार ओडीआई मान्यता प्राप्त देशहरुसँग खेल खेल्न पाउने छ।

