इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा शुक्रबार भएको घटनाको विरोधमा प्रदर्शनकारीहरूले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन्। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा प्रादेशिक राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
यस्तै, मोरङको विराटनगरमा पनि प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध गर्दै बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी ब्यारेजदेखि पोखरी क्षेत्रसम्म विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। प्रदर्शनकारीहरू चोक–चोकमा भेला भई स्थानीय प्रशासन र सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।
बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सूचना जारी गर्दै सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेका छन्। यसअघि सोमबार पनि दिउँसो कर्फ्यु लागू गरिएको थियो। घटनापछि सुनसरी र मोरङका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

