काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विगतमा देशका विभिन्न स्थानमा भएका घटनाले सबैलाई गम्भीर र संवेदनशील बनाएको उल्लेख गरेका छन्। जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरी देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने उनको भनाइ छ।
किरातीले उत्तेजनाभन्दा संयमता, द्वन्द्वभन्दा संवाद, घृणाभन्दा सहिष्णुता तथा विभाजनभन्दा सामाजिक सद्भाव र एकताको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। विविधता नेपालको पहिचान र एकता नै शक्ति भएकाले यही एकता, सद्भाव र आपसी विश्वासबाट मात्र शान्त, समृद्ध र सुरक्षित नेपालको निर्माण सम्भव हुने विश्वास उनले व्यक्त गरेका छन्।
साथै, दङ्गा नियन्त्रणका क्रममा लापरवाहीपूर्ण रूपमा गोली प्रहार गरी नागरिकको ज्यान जाने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यस्ता घटना पुनः नदोहोरिने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा आवश्यक सतर्कता अपनाउन नेपाल सरकारसँग उनले माग गरेका छन्।

