काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन ११ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार जारी प्रेस वक्तव्यमा पार्टीले शान्ति सुरक्षाको नाममा सरकारले निहत्था नेपाली नागरिकमाथि कम्मरभन्दा माथि गोली चलाएको, कर्फ्यु लगाएर जनजीवन त्रसित बनाएको तथा उक्त क्रममा एक जनाको मृत्यु र अन्य घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
पार्टीले शान्ति सुरक्षा कायम गर्न अन्य वैकल्पिक उपाय अपनाउन सकिने अवस्थामा नागरिकमाथि सिधै गोली चलाउने सरकारी शैलीको भर्त्सना गर्दै यस्तो कार्य लोकतान्त्रिक मूल्य र मानवअधिकारको मर्मविपरीत भएको जनाएको छ।
विज्ञप्तिमा घटनाका दोषीमाथि निष्पक्ष छानबिन गरी अविलम्ब कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ। साथै सुनसरीसहित अन्य जिल्लामा धार्मिक उत्तेजना फैलिन सक्ने सम्भावनाप्रति सचेत रहन सबै समुदायलाई आग्रह गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ।
उक्त विज्ञप्ति नेकपा (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्याल ले जारी गरेका हुन्।

