डा. रमेश शुभेच्छु: ‘भानुभक्तमाथि अझै गहन अध्ययन आवश्यक’

+
-

काठमाडौं । चन्द्रागिरी साहित्य सरोवरले २१३औँ भानु जयन्तीको अवसरमा ५५औँ रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रागिरीस्थित मुनाल पुस्तकालयमा आयोजित कार्यक्रममा साहित्यकार, प्राज्ञ, प्राध्यापक, स्थानीय स्रष्टा तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा. रमेश शुभेच्छुले भानुभक्त आचार्यमाथि अझै गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो। उहाँले भानुभक्तको वंशावलीसमेत थप खोज र अध्ययनको विषय रहेको उल्लेख गर्दै हालसम्म भएका अध्ययनका आधारमा भानुभक्त मौलिक काव्य–सामर्थ्य भएका तथा आफ्नो समयका प्रतिनिधि कवि रहेको धारणा राख्नुभयो। उहाँले भानुभक्तलाई अन्य राष्ट्रिय विभूतिसँग तुलना गरेर अध्ययन गर्न सकिने, भानुभक्तीय रामायणको मौलिकता तथा उहाँका फुटकर कवितामा रहेको सामाजिक चेतनालाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। साथै, ‘बधूशिक्षा’ सम्बन्धमा फैलाइएका भ्रमलाई समयसापेक्ष रूपमा मूल्याङ्कन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष अतिथि प्रा. डा. गोपीन्द्र पौडेलले भानुभक्तको साहित्यिक योगदानबारे सङ्क्षिप्त मन्तव्य राख्दै बालबालिकाको सक्रिय सहभागिताको प्रशंसा गर्नुभयो। साहित्यकार तेजप्रकाश श्रेष्ठ र प्राज्ञ नरनाथ लुइटेलले भानुभक्तको कृतित्वमाथि चर्चा गर्दै आफ्ना रचना वाचन गर्नुभयो। लुइटेलले नुवाकोटका कवि ठाकुरप्रसाद अधिकारीको ‘भानु र घाँसी’ शीर्षकको कविता पनि पाठ गर्नुभएको थियो।

कार्यक्रममा विष्णुदेवी माध्यमिक विद्यालयका तेरिसा बुढामगर, अनुषा बोहरा, अर्जुन ओली, सोमिका स्याङतान र रजनी पुरी, सुन्दर वन विद्यालयका अखण्ड केसी, एल.आर.आई. विद्यालयका आज्ञा केसी तथा ब्राइट फ्युचर विद्यालयका प्रदिप्ती पाठक, आरोह पौडेल, प्रस्तोता सिलवाललगायतका विद्यार्थीहरूले भानुभक्तसम्बन्धी रचना वाचन गरेका थिए। रारा हिल मेमोरियल स्कुलकी प्रज्ञा चालिसेले आफ्नो मौलिक रचना प्रस्तुत गरेकी थिइन्।

त्यसैगरी काशीराज सुवेदी, भोला चालिसे, पूर्णबहादुर खड्का, डा. सत्यप्रकाश थपलिया, मन भुजेल, विद्या न्यौपाने, सुदन लुइटेल, मथुरा राउत, हरिशरण आचार्य, उत्तम विचार भेटवाल, जगन्नाथ तिमल्सिना, भुवन सङ्गमलगायतका स्रष्टाले पनि कविता तथा साहित्यिक रचना वाचन गरेका थिए।

डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. गोपीन्द्र पौडेल, साहित्यकार तेजप्रकाश श्रेष्ठ, प्राज्ञ नरनाथ लुइटेल, प्रा. डा. हृदयलाल कोइराला, डा. सत्यराज थपलिया, साहित्यकार जगन्नाथ तिमल्सिना, मन भुजेल, पूर्ण खड्का, भुवन सङ्गम, भोला चालिसेलगायतको उपस्थिति रहेको थियो।

चन्द्रागिरी साहित्य सरोवरका अध्यक्ष गोपीचन्द्रको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा खनाल र कौशल्या चालिसेले संयुक्त रूपमा गर्नुभएको थियाे ।
मन भुजेल