लघुकथा- टुक्रिएको आँगन
बुबाको निधनपछि घरमा सबैभन्दा धेरै सुनिने शब्द थियो— अलग हुनुपर्छ ।जसले त्यो घर बनाउन तीस वर्ष पसिना बगाएका थिए, उनी भने अब त्यो निर्णय सुन्न जीवित थिएनन्।
एक बिहान आँगनमा डोरी तानियो। नापजोख अमिनिले चकलेटी माटोमा सेतो चुनले रेखा कोर्यो। त्यो रेखाले केवल जग्गा छुट्याएन, एउटै कोखबाट जन्मिएका तीन दाजुभाइका बाल्यकाल पनि तीन टुक्रा पारिदियो।
आमाले चुपचाप त्यो रेखा हेरिरहिन्। त्यही आँगनमा उनीहरूले पहिलो पाइला टेकेका थिए। त्यहीँ दसैँमा पिङ हालिन्थ्यो। त्यहीँ भाइहरू लड्थे, फेरि एकै थालमा भात खान्थे। आज भने एउटै घरमा बसेर पनि एकअर्काको आँखा जुधाउन डराइरहेका थिए।
सबैभन्दा कान्छो नाति दौडँदै आयो। उसले चुनको रेखामाथि पाइला राख्दै सोध्यो,“हजुरआमा, यो किन कोरेको ? ” हजुरआमाले उत्तर दिन सकिनन्। उनका ओठ काँपे, तर मुखबाट कुनै शब्द निस्केन।
जेठो छोराले भन्यो,“अबदेखि तिमी त्यो पारि नजानू। त्यो काकाको भाग हो।” बालकले फेरि प्रश्न गर्यो,“अनि हजुरआमा पनि भाग–भाग हुनुहुन्छ?” त्यो एउटा प्रश्नले आँगनभरि फैलिएको मौनता चिरिदियो। हजुरआमाले पहिलो पटक रुन खोजिन्, तर आँसु पनि मानौँ थाकिसकेका थिए।उनी केवल यति भनिन्,“घर बाँड्न सकिन्छ, बाबु ! तर आमाको काख बाँड्ने कुनै नापजोख हुँदैन।”
साँझ पर्दासम्म पर्खाल उठ्न थाल्यो। इँटा एक–एक गरेर जोडिँदै गए। तर त्यो पर्खालभन्दा अग्लो दूरी त मनहरूबीच उठिसकेको थियो।

