स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, स्नातक तह उत्तीर्ण अनिवार्य

+
-

 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सङ्घीय सांसदका स्वकीय सचिव नियुक्तिका लागि नयाँ आन्तरिक मापदण्ड लागू गरेको छ। पार्टीले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण अनिवार्य गरेको हो।

 

निर्देशनअनुसार स्वकीय सचिवका लागि उम्मेदवारले सङ्घीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल तथा पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। रास्वपाले समावेशी सिद्धान्तलाई समेत प्राथमिकतामा राख्दै योग्यता र क्षमता पुगेका महिला तथा पिछडा समुदायका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था गरेको छ।

 

त्यस्तै, स्वार्थ नबाझिने व्यवस्था सुनिश्चित गर्न अन्य कुनै सरकारी वा गैरसरकारी संस्थाबाट दोहोरो आर्थिक सुविधा लिइरहेका व्यक्तिलाई स्वकीय सचिव नियुक्ति गर्न नपाइने निर्देशनमा उल्लेख छ। स्वकीय सचिव छनोट प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन सार्वजनिक आह्वानमार्फत खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने व्यवस्था पनि पार्टीले गरेको छ