पिपुल्स हाइड्रो र हिमालयन हाइड्रोले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी

+
-

 

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेडले हालका सेयरधनीलाई १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेका छन्। दुवै कम्पनीले एक कित्ता सेयर बराबर एक सय रुपैयाँ अंकित मूल्यमा थप एक कित्ता हकप्रद सेयर खरिद गर्न सकिने प्रस्ताव अघि बढाएका हुन्।

 

पिपुल्स हाइड्रोपावरको सेयर मूल्य एक वर्षअघि प्रतिकित्ता करिब ५०० रुपैयाँसम्म पुगेको भए पनि हाल करिब ३०६ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीले बुक क्लोज (सेयरधनी दर्ता पुस्तिका बन्द) मिति तोक्नुअघि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। हकप्रदबाट उठ्ने करिब ३ अर्ब २० करोड रुपैयाँ कम्पनीको ऋण घटाउन प्रयोग गरिने बताइएको छ। कम्पनीले ४४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनामा लगानी गरेको भए पनि प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत् पूर्ण रूपमा बिक्री गर्न नसकेको जनाएको छ।

 

यता, हिमालयन हाइड्रोपावरले पनि १:१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि चैत १० गते नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको थियो। कम्पनीको सेयर हाल ३०० देखि ५०० रुपैयाँको दायरामा कारोबार भइरहेको छ। बिहीबार प्रतिकित्ता ३५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। विश्लेषकहरूका अनुसार हकप्रद सेयरपछि पनि कम्पनीको सेयर मूल्य २२५ रुपैयाँभन्दा माथि कारोबार हुने सम्भावना देखिन्छ। हकप्रदबाट उठ्ने करिब १ अर्ब २२ करोड रुपैयाँ कम्पनीले ऋण व्यवस्थापन तथा वित्तीय दायित्व घटाउन प्रयोग गर्ने योजना बनाएको छ। कम्पनीको पछिल्लो वित्तीय विवरणअनुसार भविष्यमा लाभांश वितरण गर्ने सम्भावना पनि रहेको उल्लेख गरिएको छ।