अ+
अ
अ-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा नातावाद र पारिवारिक सम्बन्धलाई आधार नबनाउन निर्देशन दिएको छ। पार्टीका महामन्त्री बिपिनकुमार आचार्यले शुक्रबार जारी गरेको निर्देशनमा सांसदहरूलाई पार्टीको विधान, सुशासनको मूल नीति र मेरिटको आधारमा मात्रै स्वकीय सचिव नियुक्त गर्न भनिएको छ।
निर्देशनमा परिवारका सदस्य, नातागोता वा आफन्तलाई स्वकीय सचिव नराखी योग्य र सक्षम व्यक्तिलाई अवसर दिन आग्रह गरिएको छ। रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै स्वकीय सचिव नियुक्तिमा पनि त्यही मापदण्ड लागू गर्नुपर्ने स्पष्ट गरेको छ। नेपाल सरकारले संघीय संसदका सदस्यलाई अधिकृतसरह सेवा-सुविधा प्राप्त गर्ने स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिसकेको छ।
संघीय संसद पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ अनुसार सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) सरह सेवा–सुविधा पाउने स्वकीय सचिव नियुक्त गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। रास्वपाको पछिल्लो निर्देशनलाई पार्टीभित्र सुशासन, पारदर्शिता र नातावादविरुद्धको प्रतिबद्धता कार्यान्वयन गर्ने कदमका रूपमा हेरिएको छ।

