दाहाल यज्ञनिधि स्वाभिमानी लेखक र सञ्चारकर्मी हुनुहुन्थयो डा. रमेश शुभेच्छु

+
-

डा. रमेश शुभेच्छु
(रमेश शुभेच्छु वर्तमान नेपाली साहित्यका सशक्त प्रतिभा हुन् । उनका दर्जनौँ सिर्जनात्मक, सम्पादित एवम् समीक्षात्मक कृतिहरु प्रकाशित छन् । त्यस्तै उनका दर्जनौँ विद्यालय र महाविद्यालयका पाठ्यपुस्तक प्रकाशित छन् । उनले दाहल यज्ञनिधिसम्बन्धी कृति नै लेखन गरेका छन् भने दाहाल यज्ञनिधिका नामको संस्थाको उपाध्यक्षका रुपमा पनि काम गरिरहेका छन् । यस पटक दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीको अवसर पारेर उनै शुभेच्छुसँग…….वटा प्रश्नमा केन्द्रित भएर यो वार्ता तयार पारिएको छ । शुभेच्छुले दाहालका विषयमा कृति पनि प्रकाशन गरेका र उनका नाममा सञ्चालित संस्थाका संस्थापक पनि भएकाले यो वार्ता दाहाल यज्ञनिधि जयन्तीको सन्दर्भ परेर लिइएको छ ।)

१) दाहाल यज्ञनिधिको जीवनयात्राबारे सङ्क्षिप्तमा प्रकाश पारिदिनुहोस् न ?

दाहाल यज्ञनिधिको जीवनयात्रा असाध्यै उतारचढावपूर्ण रह्यो । उहाँले खोटाङको तत्कालीन खाल्ले गाउँदेखि धरानको चन्द्र पाठशाला हुँदै काठमाडौँसम्म आधापेट खाएर भए पनि शिक्षा लिनुपर्छ भन्ने भावनालाई मर्न दिनुभएन । त्यो कठिन सङ्घर्षपछि आफूले प्राप्त गरेको योग्यताअनुसार दरबार हाइस्कुलमा पढाउनका साथै रेडियो नेपालबाट साहित्य र संस्कृतिसम्बन्धी कार्यक्रम उत्पादन गरेर नेपाली भषा, साहित्य र शिक्षा क्षेत्रलाई पनि योगदान दिनुभयो । उहाँले जीवन निर्वाहका लागिगरेको सङ्घर्ष, शिक्षा आर्जनका लागि गरेको सङ्घर्ष, डेरा सराइ र घरघडेरीका लागि गरेको सङ्घर्षसँगै मृगौला रोग सामना गर्दै मृगौला प्रत्यारोपण गरेर जे जति आयु बाँच्नुभयो त्यसका लागि गरेको सङ्घर्ष सबै एउटा अतिरञ्जित कथा पढेजतिकै छ । सारमा भन्दा उहाँको जीवनयात्रा सङ्घर्षपूर्ण र त्यतिकै अभिप्रेरक पनि रहेको छ ।
सङ्घर्षपूर्ण भन्नुभयो ।

 

२)सारमा बुझ्दा उहाँको जीवनयात्रा कस्तो छ ?

मैले पहिलो प्रश्नमै भनि पनि सकेँ । सारमा भन्दा उहाँको जीवनयात्रा संघर्षपूर्ण र सफल छ । यसो भनेर पुग्दैन कसरी संघर्षपूर्ण कसरी सफल भयो भन्ने होला । उहाँको समयअनुसार उहाँ सफल हुनुहुन्छ । २०१० सालमा खोटाङको खाल्लेमा जन्मिएका दाहालको जीवनकथा कुनै रोचक सिनिमा भन्दा कम छैन । कुनै रोचक उपन्यास भन्दा कम छैन । उहाँका जीवनमा जति रोग, भोक, शोक, अभाव, गरिवी र तिनसँगको संघर्ष थोरै व्यक्तिले मात्र व्यहोरेका होलान् । त्यसो भएर पनि उहाँले आफ्नो जीवनलाई अस्तित्वपूर्ण बनाउनुभयो । जहाँ पनि स्वाभिमानसाथ उभिनुभयो । आफ्नो जीवनदर्शनलाई दाउमा राखेर एक दिन त के एक मिनेट पनि बाँच्नुभएन । उहाँ शिक्षासेवी त हुनुहुन्थ्यो नै त्यत्तिकै संस्कृति र समाजसेवाका क्षेत्रमा समर्पित हुनुहुन्थ्यो । त्यत्ति नै सञ्चारक्षेत्रमा समर्पित हुनुहुन्थ्यो । र नेपालको हावापानीअनुसार राजनीतिक चेतनासम्पन्न हुनुहुन्थ्यो ।

 

३)तपाईंले दाहाललाई नजिकबाट नियाल्नु भएको छ । त्यसैले सोध्दैछु, उहाँको स्वभाव र रुचि कस्तो थियो ? केही बताइदिनुहोस् न ।

दाहाल सर स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । कतिपयले त्यो स्वाभिमानी जीवनशैलीलाई घमण्डका तहसम्म बुझ्थे तर मैले स्वाभिमानकै रुपमा देखेँ । उहाँले नेपाली भाषालाई कमजोर बनाउन खोज्ने, नेपाली शिक्षा र उन्नत संस्कृतिलाई धुमिल बनाउन खोज्ने पक्ष र पात्रसँग कहिल्यै पनि सम्झौता गर्नुभएन । राजनीतिका नाममा लाजनीतिलाई कहिल्यै स्वीकार गर्नुभएन । प्रशासनका नाममा हुने भ्रष्ट शासनलाई कहिल्यै मान्नु भएन । उहाँ परिवर्तनशील, क्रान्तिकारी, केही अराजक तर युगको आवाजसँग सुपरिचित पात्र हुनुहुन्थ्यो । उहाँ घरव्यवहारमा पनि निपूर्ण हुनुहुन्थ्यो । मैले थाहा पाएसम्म सबै भतिजा भतिजीले उहाँबाट बाबुबाट पाउनुपर्ने माया पाएका थिए । आमा उहाँसँगै हुनुहुन्थ्यो र पछि उहाँ बितेपछि पनि सुधा म्याडमसँगै बसेर भर्खर पोहोर बित्नुभयो । उहाँ सिधा कुरा बोल्ने र सोहीअनुसार व्यवहार गर्ने स्वभावको व्यक्ति हुनुहुन्थ्यो ।

४)उहाँका सिर्जनाले दिने सन्देश र जीवनदर्शनका पक्षलाई कसरी केलाउनु भएको छ ?

सिर्जनातर्फ उहाँका कथा रचना केही भए पनि ती नगन्य छन् । उहाँले कविता र निबन्धलाई आफ्ना सिर्जनात्मक विधाका रुपमा लिनुभएको छ । अहिलेसम्म एउटा कवितासङ्ग्रह, दुई वटा निबन्धसङ्ग्रह र एउटा गीति एल्बम प्रकाशित छन् । यी कृतिहरु हेर्दा उहाँले नेपाली समाजका निम्न वर्गीय पात्रहरुका पीर मर्का, उनीहरुमाथि भएको अन्याय, अत्याचार, शोषण दमन आदिको पक्ष नै चित्रण गरेको देखिन्छ । नेपाली संस्कृतिको विविधतासँगै नयाँ संस्कृतिको निर्माणमा उहाँको विशेष भूमिका छ ।

५)यी विशेषता हेर्दा प्रगतिवादी लेखन जस्तो लाग्छ । के उहाँ प्रगतिवादी साहित्यकार हुनुहुन्थ्यो ?

हाम्रामा प्रगतिशील लेखक हो होइन भनेर कृति हेरेर नभई उसले कम्युनिस्ट पार्टीको टिकट लिएको छ कि छैन भनेर हेरिन्छ । माक्र्सवादी दर्शनमा केन्द्रित भएर टिकट काटेको छ कि छैन नहेरी मूल्याङ्कन गर्ने हो भने दाहाल यज्ञनिधि प्रगतिशील र अझ प्रगतिवादी साहित्यकार हुनुहुन्छ । उहाँले नारीका पक्षमा, निम्नवर्गका पक्षमा, दलित र सीमान्तीकृत समुदायका पक्षमा कलम चलाउनुभएको छ । उहाँ राजनीतिक रुपमा काङ्ग्रेसमा आस्था राख्ने वैचारिक रुपमा माक्र्सवादी लेखक चिन्तक हुनुहुन्थ्यो ।

६)दाहाल यज्ञनिधिलाई बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्वको रुपमा लिइन्छ, यसमा उहाँको क्षमता र योगदानलाई मूल्याङ्कन गर्ने पक्षहरु के के छन् ?

उहाँ सञ्चारकर्मी र साहित्यकारका रुपमा चिनिनुहुन्छ । यी दुई प्रमुख पक्ष हुन् । सिर्जनातर्फ उहाँ कवि र निबन्धकारका रुपमा चिनिनुहुन्छ । उहाँको सामाजिक व्यक्तित्व पनि त्यत्तिकै सशक्त देखिन्छ । यस आधारमा उहाँ बहुमुखी प्रतिभा हुनुहुन्थ्यो । उहाँले निबन्धमा प्रस्तुत गरेका यथार्थहरु नेपाली समाजलाई सिस्नोपानी लगाउने खालका छन् र सबैलाई बिउँझाउने खालका छन् । सहानुभूति र क्रान्तिका एवम् परिवर्तनका पक्षधर लेखकका रुपमा उहाँको आवाज लेखन र सञ्चारमा मात्र होइन सामाजिक व्यवहारमा पनि सबल देखिन्छ ।

७)उहाँका प्रकाशित र अप्रकाशित कृतिहरु कुन कुन हुन् ?

उहाँको पहिलो कृति जदौका निबन्ध हो । यो दिनेश लुइटेल र देवकुमारी लुइटेलका सहसम्पादनमा साझा प्रकाशनबाट प्रकाशनमा आयो । पछि उहाँको जदौका ३४ निबन्ध शीर्षकमा दोस्रो कृति आयो । यो दिनेशको सम्पादनमा अक्सफोर्ड प्रकाशनबाट सार्वजनिक भएको छ । अर्को कृति दाहाल यज्ञनिधिका कविता शीर्षकमा नेपाल प्रज्ञाप्रतिष्ठानबाट देवकुमारी लुइटेलका सम्पादनमा आएको छ । हामीले दाहाल यज्ञनिधि सुधा सदनका तर्फबाट उहाँको एउटा गीति एल्बम पनि प्रकाशन गरेका छौँ । यसमा स्वर सङ्गीत संयोजन लोचन भट्टराईले गर्नुभएको छ ।

८)उहाँका कुन कृतिमा विद्रोहको स्वर कसरी प्रस्तुत भएका छन् ? पाठकले बुझ्ने गरी बताइदिनु होस् न ।

उहाँका कवितामाथि मैले एउटा अवरजन (अबर्जन) चेतना शीर्षकको कार्यपत्र लेखन गर्नका साथै त्यसमाथि परिमार्जित लेख नै लेखेको र प्रकाशन गरेको थिएँ । उहाँले दलितका पक्षम, नारीका पक्षमा, नारीमा पनि एकल नारी, शोषण दमनमा परेका नारी र श्रमशील नारीका पक्षमा, बालबालिकाका पक्षमा, मजदुर, भरिया, गोठाला, खेताला र कमजोर मानिसहरुका पक्षमा आवाज उठाउनुभएको छ । उहाँ सरकारका जनतामारा हर नीतिनियमका विरोधी लेखकका रुपमा देखिनु भएको छ ।

९)दाहालका निबन्ध चाहिँ कस्ता छन् ?

दाहालले जे देख्नुभयो त्यही लेख्नुभयो । उहाँ कला कलाका लागि भन्ने चिन्तनका घोर विरोधी र कला जीवनका लागि भन्ने चिन्तनका कटर पक्षधर हुनुहुन्थ्यो । उहाँको एउटा विचार म सम्झन्छु :जुन शैलीले लक्ष्मीप्रसादले निबन्ध लेखे, त्यो शैली मेरो होइन । उनको जस्तो उदात्त सिद्धान्त र विशिष्ट प्रतिभा
मसँग छैन । शङ्कर लामिछानेजति चुम्बकीय अध्येता पनि
म होइन । त्यसो त ‘कला कलाका लागि’ का मान्यता
भत्किए । लेखन कला पनि जीवनका लागि हुनुपर्दछ ।
जिन्दगीको भोगाइ एकातिर लेखाइ अर्कातिर गर्न म
लागिनँ ।
(दाहाल, २०७६, पृ. उ.न)
यही हो दाहालको निबन्धकारिताको चुरो कुरो । उहाँले जे देख्नु र भोग्नुभयो त्यही लेख्नुभयो । कतिपय निबन्धमा व्यक्त यथार्थ अतियथार्थका तहमा र तीतो तहमा रहेकाले हामीले तिनलाई सम्पादन गरेर अरु शब्द राख्न पनि सकेनौँ र प्रकाशन गर्न पनि सकेनौँ । अलि ठाडै रुपमा सत्यको वकालत हुँदा उहाँका सबै रचना प्रकाशन हुन पनि सकेका छैनन् । दुई वटा रचना प्रकाशनकै क्रममा पनि यो समस्या देखिइसकेको थियो ।

यहाँ आफै स्रष्टा र द्रष्टा पनि हुनुहुन्छ । वर्तमान समीक्षा क्षेत्रमा यहाँको नाम जहाँतहाँ सुनिन्छ । यहाँका दृष्टिमा दाहाल यज्ञनिधिलाई नेपाली साहित्यमा कुन दर्जामा राखेर हेर्न सकिन्छ ?
यो निकै जटिल प्रश्न हो । हाम्रा गुरु वासुदेव त्रिपाठीले लक्ष्मीप्रसाद देवकोटाका कविताको मूल्याङ्कन गर्दा निम्न, निम्नमध्य मध्यम, उच्च मध्यम, उच्च र उच्चतर गरेर मोटामोटी पाँच र अझ छ प्रकारसम्मका श्रेणी बनाएर स्रष्टाको अवस्था सिर्जनात्मक सामथ्र्य जाँच्ने कसी बनाउनुभएको थियो । त्यसलाई डा. कुमारबहादुर जोशी र डा. महादेव अवस्थीहरुले प्रयोग गरेको देखिन्छ । त्यस दृष्टिले हेर्दा दाहाल मध्यम र उच्च मध्यम प्रकारका निबन्धकार र कविका रुपमा देखिनुहुन्छ । यो कुरालाई उहाँले स्वीकार गर्नु पनि भएको छ । उहाँका निबन्ध र कविता उच्च मध्यम र केही उच्च तहको आरोहण प्रयत्नमा देखिन्छन् । यो मेरो समग्र दाहालका कृति पठनपछिको बुझाइ हो ।
उहाँको कृतित्व साहित्यिक कृतित्वले मात्रै देखाउँदैन । उहाँले रेडियोमा बोलेका आवाजमा, मञ्चमा गरेका भाषणमा उहाँको कृतित्वको ठुलो अंश रहेको छ । हामीले त्यसलाई पनि मूलयाङ्कन गर्नुपर्छ । उहाँ नेपाली साहित्य संस्कृति, सञ्चार र कला क्षेत्रमा आफै संस्थ ाझैँ बनेर काम गर्ने प्रतिभा हुनुहुन्थ्यो । दाहाल आफै संस्थाझैँ बाँचेको व्यक्ति भन्नुभयो । उहाँ आफै संस्था हुँदा हुदै प्रतिष्ठान स्थापनाको आबाश्कता थियोे र ?
दाहाललाई सम्मान, संस्था, कृतिबारे केही मतलब थिएन । उहाँ सालिक निर्माण गर्ने कुराको पनि विरोधी हुनुहुन्थ्ष्यो । उहाँले वरिष्ठ र कनिष्ठलाई कहिल्यै उमेर र प्रतिष्ठासँग जोड्नुभएन । उहाँले प्रतिभालाई महत्त्व दिनुभयो । म फुच्चेलाई राखेर तीन तीन वटा रेडियो कार्यक्रम बनाइदिनुभएको छ । त्यो उहाँको प्रतिभा चिन्ने र उसलाई उजागर गर्ने क्षमता हो भन्ने बुझ्छु ।

९)दाहाल यज्ञनिधि सुधा सदनले के–कस्ता गतिविधिहरु गरिरहेको छ ?

यो प्रतिष्ठान केही वर्ष दाहाल यज्ञनिधि स्मृति सभाका रुपमा चल्यो । ती वर्षमा यसको संयोजक भएर मैले केही काम गरेँ । दाहालले प्रवाह गरेको चिन्तनअनुसार नै खास खास व्यक्ति छनोट गरेर केही सम्मान पुरस्कार दिनका साथै केही वृद्धाश्रम, बालआश्रम र अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सम्मान गरियो । त्यस क्रममा रत्ननिधि रेग्मी, सावित्री कार्की, वि.के पाल्पाली जस्ता प्रतिभालाई सम्मान गरियो ।

१०)प्रतिष्ठान बनेपछि यसले हिजो के–के गर्याे ,आगामी कार्य योजना के के छन् ?

म भन्दै थिएँ । दाहालको शोक केही मथर भएपछि । सुधा गुरुआमाले केही व्यवहार मिलाएर यसलाई औपचारिक रुपमा संस्था बनाउने निर्णय गरियो । त्यस क्रममा दाहालका नाममा मात्र होइन गुरुआमाको नाम पनि जोडेर संस्था बनाउने र औपचारिक ढङ्गले गतिविधि सञ्चालन गर्ने निर्णय गरियो । सोही क्रममा संस्थाको नाम दाहाल यज्ञनिधि–सुधा सदन बनाइयो । त्यस वेला संस्था दर्ताका क्रममा प्रतिष्ठान राख्न दिँदो रहेनछ र नै सदन भनियो ।यसको काम चाहिँ प्रतिष्ठानहरुले गर्ने  हो ।

११)यो पछिल्लो संस्थाले के कस्ता काम गरिरहेको छ । यसको कोश पनि ठुलै छ भन्ने सुनिन्छ नि ?

हो । यस संस्थाको कोशमा दाहाल परिवारका तर्फबाट ५१ लख जम्मा भएको छ । यस संस्थाका विभिन्न कार्ययोजना छन् । तीमध्ये हामीले दरबार हाइस्कुलका कक्षा आठमा पढ्ने छात्रछात्रामध्येबाट नेपाली विषयमा उत्कृष्ट छात्रछात्रालाई वार्षिक रु. २०००० पुरस्कार दिने निर्णय गरेका छौँ । त्यस्तै दाहालका नाममा रु १५०००० राशिको पुरस्कार शिक्षा, सञ्चार र संस्कृतिका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई दिने निर्णय गरेका छौँ र दिँदै पनि छौँ । दाहाल यज्ञनिधिको जीवनदृष्टि भन्ने कृति प्रकाशन गरेका छौँ । दाहाल यज्ञनिधिको नाममा स्मृतिग्रन्थ प्रकाशन गर्ने र अरु थुप्रै योजना बनाएका छौँ । यस विषयमा हामीले संस्थागठन गरे लगत्तै एउटा कार्यक्रम गरेर एउटा प्रेस विज्ञप्ति नै जारी गरेका थियौँ । अहिले यो संस्थाका विषयमा धेरै कुरा नगरौँ । हामी सकेसम्म काम गर्ने प्रयत्नमा छौँ । भर्खरै उहाँका विषयमा विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिएर दाहालको जस्केलो नामको युटुव पटकास्ट पनि सार्वजनिक गरेका छौँ हामीलाई दाहाल यज्ञनिधिको बलियो अभिप्रेरणा र आत्मविश्वास छ । तर कोशमा राखेको रकमाको ब्याज ज्यादै कम आउन थालेको छ र योजनाअनुसार काम गर्न केही कठिन भएको छ । यस सन्दर्भमा यस्ता कल्याणकारी संस्थाको पैसा कुनै खास बैकमा वा राष्ट्रवैँकमा राखेर सेवा गर्ने अवसर दिए राम्रो हुन्थ्यो भन्ने अर्थमन्त्रालय र नेपाल सरकारलाई मेरो अनुरोध पनि तपाईंको सञ्चारमाध्यमबाट ।

१२)अहिलेसम्म दाहाल यज्ञनिधि पुरस्कारबाट को को कुन कुन क्षेत्रमा पुरस्कृत हुनुभयो ?

साहित्य र संस्कृति क्षेत्रबाट महावीर पुन, इतिहास, साहित्य क्षेत्रबाट ज्ञानमणि नेपाल, विज्ञान प्रविधिबाट महावीर पुन जस्ता प्रतिभा पुरस्कृत भइसक्नुभएको छ । अब यस पटक पनि हामी कोही खास प्रतिभा पुरस्कृत गर्दैछौँ । औपचारिक निर्णय भइनसकेकाले अहिले यसै हो नभनौँ ।
गत वर्षको दाहालको जन्मजयन्तीमा तपाईं पुरस्कृत हुनुभयो, त्यसमा तपाईंको कुन र कस्तो भूमिकालाई स्मरण गरिएको हो ? मलाई कसरी मूलयाङ्कन गर्नुभयो भन्ने मलाई थहा छैन । सम्भवतः मैले दाहालका कृतिहरुको सम्पादन, उहाँका बारेमा पहिलो पटक पुस्तक लेखन पनि गरेका आधारमा सम्मान गरिएको हो भन्ने लाग्छ । यो पुरस्कार दाहाल यज्ञनिधि सम्बद्ध प्रतिष्ठानले दिएको होइन । दाहाल यज्ञनिधिले जीवनकालमा चलाएको र अहिले पनि क्रियाशील संस्था नागार्जुन प्रतिष्ठानले दिएको हो । साहित्यकार मातृका पोखरेलको संयोजकत्वमा बनेको समितिले मलाई चयन गरेपछि मैले नाइँ भन्न नसकेको हो । म व्यक्तिगत रुपमा चाहिँ मलाई अझै काम गर्न दिनुहोस् । अहिले नै पुरस्कार थाप्ने बेला भएको छैन भन्दै थिएँ र अहिले पनि त्यसै भनिरहेको छु । दाहाल यज्ञनिधिको जीवन दृष्टि भन्ने अर्को कृति पनि मेरा सम्पादनमा प्रकाशित छ ।

१३)आज दाहाल यज्ञनिधिको त्रिहत्तरौँ जन्मजयन्ती हो । यस वेला दाहालाई सम्झनु पर्दा कसरी सम्झनुहुन्छ ?

दाहाल यज्ञनिधि एउटा व्याक्ति नभएर एउटा आन्दोलन हो । उहाँले यस क्रममा समाजका तमाम वर्जनमा पारिएका मानिसलाई अबर्जनका रुपमा हेर्नुभयो र सोही अनुसार बोल्नु, व्यवहार गर्नु र लेख्नुभयो । आज गणतान्त्रिक संविधानले लेखेका अधिकारका सबै कुरा उहाँले जीवन कालमै उठाउनुभयो र रेडियो नेपाल जस्तो संस्थामा रहेर दलितले मात्र प्रयोग गरिने भन्ने मानिने एक किसिमको अवभाषालाई प्रतिष्ठाको पद बनाउनुभयो । नेपाली सम्मान संस्कृतिमा जदौ दर्शनको प्रतिपादन र प्रयोग गर्नुभयो । उहाँलाई आदरपूर्वक सम्मान पूर्वक सम्झन्छु र जदौ भन्छु । यहाँले भन्नै पर्ने कुरा केही छुट्यो कि ?छुटिहाल्यो नि । छुटिहाल्छ नि । एकै बसाइमा दाहालका विषयमा कहाँ सबै बोल्न भन्न भ्याइन्छ र ? यो अन्तर्वाता पूर्ण होस् भनेर हेही चाहिँ भनिहालौँ ।
उहाँले दरबार हाइस्कुलमा ३६ वर्ष पढाउनुभयो । उहााले पढाउने क्रममा जागिर मात्र खानुभएन । विद्यार्थी ठग्नुभएन । उहाँसँग पढेका विद्यार्थी उहाँको विषयमा कमजोर बनेनन् ।
उहाँलाई स्मरण गर्ने ठुलो पक्ष उहाँको सञ्चार कर्म हो । पञ्चायत कालका मध्य अवस्थामा २०३४ सालमा भर्भराउँदो प्रजातान्त्रिक र समाजवादी चेतना बोकेर रेडियो नेपालमा प्रवेश गर्नुभयो । उहाँको सोचाइ र गराई नयाँ र नौलो थियो । त्यहाँ चल्दै आएको कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार कार्यक्रम चलाउन थाल्नुभयो । त्यस कार्यक्रमबाट उहाँ नेपाली रेडियो श्रोता सामु सुपरिचित बन्नुभयो । उहाँको रेडियो थर्काउने मोटो र ओजपूर्ण आवाज आज पनि हाम्रा कानमा गुञ्जन्छ । वि. सं. २०३६ सालदेखि साहित्य संसारका नाममा चलेको त्यो कार्यक्रम आज पनि चलिरहेको छ । त्यस कार्यक्रमका अतिरिक्त हाम्रो संस्कृति हाम्रो परम्परा शीर्षकको अर्को कार्यत्रम पनि रेडियो नेपालबाटै चलाउनुभयो ।
उहाँले साहित्य संसारबाट साहित्य मात्र होइन संस्कृतिलाई जोड्नुभयो । नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अ न्तर्वाता र रेडियो प्रसारण मार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याउनुभएको छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलन र गणतान्त्रिक आन्दोलनमा पनि उहाँको विशेष योगदान छ ।

(यहाँलाई गहन विचारका लागि धेरै धेरै धन्यवाद ।
यहाँलाई पनि विशेष धन्यवाद ।)