अ+
अ
अ-
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयाेजक माधवकुमार नेपालले आफ्नो पार्टी आफ्नै कमजोरीका कारण संकटमा परेको स्वीकार गरेका छन्। बिहीबार आयोजित प्रदीप नेपाल पत्रकारिता तथा सुरेश रजक फोटो पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न प्रकारका राजनीतिक तमासा र प्रहसन भइरहेको भन्दै लोकतन्त्र र संविधानमाथि नै प्रश्न उठ्न थालेको बताए।
उनले दलहरूबीचको द्वन्द्वले लोकतान्त्रिक प्रणाली र आन्तरिक शक्ति कमजोर बनाएको उल्लेख गर्दै सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने धारणा राखे। अध्यक्ष नेपालले तत्काल नेकपा (एमाले)सँग पार्टी एकता हुने कुनै संकेत नरहेको स्पष्ट पारे। उनले राजनीतिक रूपमा संवाद र भेटघाट आवश्यक भए पनि त्यसलाई पार्टी एकताको संकेतका रूपमा बुझ्न नहुने बताए।
प्रदेश सरकार परिवर्तनको विषयमा देखिएको अन्योलबारे बोल्दै उनले समस्या समाधानबाट भाग्ने अवस्था नरहेको उल्लेख गरे। त्यसको उचित निकास निकाल्न आफ्नो पार्टीले सकारात्मक भूमिका खेल्ने उनले बताए। आगामी स्थानीय तथा प्रदेश निर्वाचनका सन्दर्भमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरूसँग समेत आवश्यक परामर्श र सहकार्य गरेर अघि बढ्न सकिने उनले बताए।

