काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७औँ वार्षिक उत्सवको अवसरमा विश्वविद्यालयअन्तर्गतका केन्द्रीय विभाग तथा आंगिक क्याम्पसमा २५ वर्ष वा सोभन्दा बढी सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक तथा कदरपत्र प्रदान गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले आयोजित विशेष समारोहमा दीर्घसेवा पदक र कदरपत्र प्रदान गरेका हुन्। त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि निरन्तर शैक्षिक तथा प्रशासनिक सेवामा योगदान पुर्याएका प्राध्यापक र कर्मचारीलाई हरेक वर्ष वार्षिक उत्सवको अवसरमा सम्मान गर्दै आएको छ।
यस वर्ष नेपाली केन्द्रीय विभागमा २९ वर्षदेखि कार्यरत प्रा. डा. रामप्रसाद ज्ञवाली लगायत १०० प्राध्यापक दीर्घसेवा पदकबाट सम्मानित भएका छन्। सम्मानपछि प्रतिक्रिया दिँदै उनले त्रिभुवन विश्वविद्यालयले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान दिएका प्राध्यापक तथा कर्मचारीको कदर गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए।
“विश्वविद्यालयले सेवा र योगदानको सम्मान गर्दा यसले प्राध्यापक तथा कर्मचारीमा थप जिम्मेवारी र उत्साह जगाउँछ,” उनले भने।
विश्वविद्यालयका अनुसार यस वर्ष देशभरका केन्द्रीय विभाग र आंगिक क्याम्पसका एक सयभन्दा बढी प्राध्यापक तथा ६० भन्दा बढी कर्मचारीलाई दीर्घसेवा पदक र कदरपत्र प्रदान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयले वार्षिक उत्सवको अवसर पारेर प्रत्येक वर्ष २५ वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ।

