अ+
अ
अ-
एजेन्सी,
भारतमा परीक्षा पेपर लिक प्रकरणलाई लिएर सुरु भएको युवा–विद्यार्थी आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने मागसहित राजधानी नयाँदिल्लीको जन्तर–मन्तरबाट सुरु भएको आन्दोलन अहिले देशका विभिन्न सहरमा फैलिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आन्दोलन उग्र बन्दै गएपछि संसदतर्फ मार्च गर्न खोज्ने प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज गरेको बताइएको छ। दिल्लीसँगै बिहारको पटनालगायत विभिन्न स्थानमा पनि प्रदर्शन जारी रहेको छ। आन्दोलनकारीहरूले सरकारले बल प्रयोगमार्फत आफ्नो आवाज दबाउन खोजेको आरोप लगाएका छन्।
प्रदर्शनकारीका अनुसार पेपर लिकका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ। एक छात्राको आत्महत्यापछि आन्दोलनले थप उग्र रूप लिएको उनीहरूको दाबी छ। उनीहरूले दोषीमाथि कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा परीक्षा प्रणालीमा पारदर्शिता र सुधारको माग गरेका छन्। जन्तर–मन्तरमा हजारौँ युवा धर्ना र प्रदर्शनमा सहभागी छन् भने केही आन्दोलनकारीले नुनपानीको भरमा आमरण अनसनसमेत सुरु गरेका छन्। स्वास्थ्य अवस्था गम्भीर बनेपछि केहीलाई अस्पताल भर्ना गरिएको बताइएको छ।
यसैबीच आन्दोलनलाई समर्थन गर्न पुगेका विपक्षी नेता राहुल गान्धीलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर पछि रिहा गरेको समाचार सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा पनि आन्दोलनको पक्ष र विपक्षमा व्यापक बहस चलिरहेको छ। आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् भने सरकारले परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ।

