काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय संयोजन समिति सदस्य झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूलाई कुनै पनि अपवित्र राजनीतिक साँठगाँठमा नलाग्न आग्रह गरेका छन्।
शनिबार जारी विज्ञप्तिमा खनालले प्रधानमन्त्री बनेपछि बलियो सरकारबाट जनताले देशका ज्वलन्त समस्या समाधान हुने अपेक्षा गरे पनि राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न अंगबीचको सम्बन्ध कमजोर बन्दै गएको बताएका छन्। उनले श्रमजीवी जनता निराश बन्दै गएको र विदेशी हस्तक्षेप तथा आन्तरिक अस्थिरता बढिरहेको दाबी गरेका छन्।
खनालले यस्तो परिस्थितिमा देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै वामपन्थी एकता दक्षिणपन्थी शक्तिसँगको सहकार्यबाट नभई सही राजनीतिक विचार, वर्गीय दृष्टिकोण र जनपक्षीय नीतिका आधारमा हुनुपर्ने बताएका छन्। दक्षिणपन्थी शक्तिसँगको साँठगाँठले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने खतरा रहेको उनको भनाइ छ।
विज्ञप्तिमा उनले नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गर्दै कुनै पनि नयाँ राजनीतिक समीकरणभन्दा पार्टीको क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई प्राथमिकतामा राखी निर्णय गर्न आग्रह गरेका छन्।
खनालले अन्त्यमा सम्पूर्ण कम्युनिष्ट तथा वामपन्थी शक्तिलाई अपवित्र साँठगाँठबाट टाढा रही सही कार्यदिशाका आधारमा पार्टी पुनर्गठन, रूपान्तरण र जनताको पक्षमा गुणात्मक परिवर्तनको अभियानलाई अघि बढाउन आह्वान गरेका छन्।


