काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको स्थापित एक चीन नीतिविपरीत कुनै पनि गतिविधि हुन नदिन सरकारलाई आग्रह गर्नुभएको छ। बिहीबार जारी विज्ञप्तिमा खनालले असार २२ गते नुवाकोटको शिवपुरीस्थित एक विद्यालयमा दलाई लामाको जन्मदिन मनाउन अनुमति दिइएको भन्दै त्यसप्रति आपत्ति जनाउनुभएको हो।
उहाँले उक्त कार्यक्रमले नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको मित्रवत् सम्बन्धमा नकारात्मक असर पार्ने दाबी गर्नुभएको छ। उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन तथा अष्ट्रेलियाली कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको उल्लेख गर्दै खनालले नेपाललाई चीनविरोधी गतिविधिको थलो बनाउने प्रयास स्वीकार्य नहुने बताउनुभएको छ। नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नहुने उहाँको भनाइ छ।
विज्ञप्तिमा सरकारले अवलम्बन गरेको नीति राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउँदै नेपाली जनता एक चीन नीताको पक्षमा दृढ रहेको उल्लेख गरिएको छ। साथै, चीन र भारत दुवै छिमेकीसँग सुमधुर, सन्तुलित र सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ। खनालले नेपाललाई शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको मैदान बनाउन नहुने उल्लेख गर्दै छिमेकी मुलुकसँगको मित्रता र सहकार्य नै नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुने धारणा व्यक्त गर्नुभएको छ।


