नेपालकाे मुखबाट मदन भण्डारीको खुलेर प्रशंसा, एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल–खनाल

+
-

काठमाडौं । कम्युनिस्ट आन्दोलनका नेता माधवकुमार नेपालले जननेता मदन भण्डारीको राजनीतिक योगदानको खुलेर प्रशंसा गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भण्डारीको नेतृत्व, दूरदृष्टि र विचारले आफूलाई राजनीतिक रूपमा प्रेरित गरेको बताएका हुन्।

नेता नेपालले जलेश्वर जेलबाट रिहा भएपछि तत्कालीन केन्द्रीय सचिव सीपी मैनालीको निर्देशनमा विराटनगर पुगेर पहिलोपटक मदन भण्डारीसँग भेट भएको स्मरण गरे। उनले भण्डारी कम्युनिस्ट आन्दोलनलाई समयअनुकूल कसरी अघि बढाउने भन्ने विषयमा निरन्तर चिन्तनशील रहेको र उनकै प्रेरणाले आफ्नो राजनीतिक यात्राले स्पष्ट दिशा पाएको उल्लेख गरे।

राष्ट्रिय सभागृहमा आयोजित उक्त कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयाेजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल एउटै मञ्चमा देखिएका थिए।

चार प्रमुख कम्युनिस्ट नेताको एकै मञ्चमा उपस्थितिले नेपाली राजनीतिक वृत्तमा कम्युनिस्ट एकताको सम्भावनाबारे नयाँ बहस सुरु भएको छ। यद्यपि कार्यक्रम आयोजकले मदन भण्डारीको विचार, योगदान र समसामयिक कम्युनिस्ट आन्दोलनबारे अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

यद्यपि नेताहरूले कुनै औपचारिक एकता घोषणा नगरे पनि उनीहरूको संयुक्त उपस्थितिलाई आगामी निर्वाचनको सन्दर्भमा सम्भावित वाम सहकार्य वा एकताको सन्देशका रूपमा राजनीतिक विश्लेषकहरूले अर्थ्याउन थालेका छन्। यस विषयमा सम्बन्धित दलहरूले भने औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।