देवानगञ्ज घटनामा बल्ल बाेल्याे सरकार, ध्यानाकर्षण भएको सन्देश, छानबिन समिति गठन

अ+
अ
अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सरकारले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विज्ञप्तिअनुसार, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरी काम सुरु गरिसकेको जनाएको छ।

सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषीउपर कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सरकारले शान्तिपूर्ण र कानुनी माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा नेपाली समाजमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा भ्रामक सूचना र अफवाहको पछि नलाग्न सबैमा अपिल गरिएको छ।

यस संवेदनशील परिस्थितिमा मुलुकभर शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकसँग नेपाल सरकारले सहयोग र संयमताको आग्रह गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा उक्त प्रेस विज्ञप्ति जारी गरिएको हो।