प्रगतिवादी साहित्यिक आन्दोलन र बहुभाषिक नेपालको सन्दर्भ: भानुभक्त आचार्य

+
-

रक्तिम लामा

भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा नेपाल बौद्धिक परिषद्, काभ्रेपलाञ्चोकद्वारा आयोजित खुला कविता वाचन कार्यक्रममा वरिष्ठ साहित्यकार आदरणीय हरि मञ्जुश्रीले उठाउनुभएको प्रश्न निकै गम्भीर, यथार्थपरक र अनुसन्धानयोग्य लाग्यो। उहाँले भन्नुभयो— “भानुभक्तलाई आदिकविको उपाधि दिनुअघि, नेपालमा अन्य कवि थिए कि थिएनन्? वसन्त शर्माको ‘कृष्णधारा’ खण्डकाव्य तथा मण्डन देउपुर क्षेत्रको साहित्यिक परम्पराको पनि अध्ययन हुनुपर्छ।”

यो प्रश्नले नेपाली साहित्यको इतिहासलाई नयाँ कोणबाट हेर्न बाध्य बनाउँछ। वास्तवमा, “आदिकवि” भन्ने उपाधि ऐतिहासिक तथ्यको अन्तिम निष्कर्ष हो कि पछि निर्माण गरिएको साहित्यिक–सांस्कृतिक सहमति? यसको गम्भीर पूर्नमूल्याङकन आवश्यक छ।

भानुभक्तले संस्कृतमा सीमित रहेको रामायणलाई खस नेपाली (गोरखाली) भाषामा अनुवाद गरेर जनसाधारणसम्म पुर्‍याउनुभएको योगदान निस्सन्देह ऐतिहासिक छ। तर त्यसले उहाँलाई सम्पूर्ण नेपालको “आदिकवि” बनाउँछ कि खस नेपाली भाषाको आदिकवि? नेपाल त बहुभाषिक राष्ट्र हो। तामाङ, नेपाल भाषा (नेवारी), मैथिली, भोजपुरी, थारू, लिम्बू, गुरुङ, मगर, राई लगायतका भाषामा भानुभक्तभन्दा अघिदेखि नै समृद्ध मौखिक र लिखित साहित्यिक परम्परा थिए कि थिएनन्? यो प्रश्नको उत्तर खोजिनु आवश्यक छ।

भानुभक्तसँग जोडिएको ‘घाँसी’ को कथा पनि पूनर्विचारयोग्य देखिन्छ। प्रचलित कथाअनुसार एउटा घाँसीले घाँस बेचेर कमाएको पैसाले कुवा बनाएको देखेर भानुभक्त प्रेरित भई कविता लेखे। तर यो कथाको ऐतिहासिक विश्वसनीयतामाथि पनि प्रश्न उठ्छ। त्यतिबेलाको तनहुँको चुँदी जस्तो ग्रामीण क्षेत्रमा घाँस किनबेच हुने विकसित बजार थियो भन्ने प्रमाण कहाँ छ? घाँस बेचेर सार्वजनीक कुवा निर्माण गर्ने आर्थिक अवस्था साँच्चै सम्भव थियो कि थिएन? यदि यही घटना तत्कालीन काठमाडौं वा कुनै व्यापारिक केन्द्रको भएको भए त्यसलाई सहज रूपमा स्वीकार गर्न सकिन्थ्यो। तर चुँदीको सामाजिक–आर्थिक यथार्थलाई हेर्दा यो कथा अनुसन्धानको विषय बन्नुपर्छ। सम्भव छ, यो घटना यथार्थभन्दा बढी साहित्यिक प्रतीक वा पछि निर्मित किंवदन्ती हो। त्यसैले इतिहास र आख्यानलाई एउटै रूपमा स्वीकार गर्नु वैज्ञानिक दृष्टिकोण हुँदैन।

भानुभक्तसम्बन्धी अर्को महत्वपूर्ण बहस मोतिराम भट्टको भूमिकासँग जोडिएको छ। नेपाली साहित्यका इतिहासकारहरूले मोतिराम भट्टलाई भानुभक्तका रचनाहरू खोजी, सङ्कलन, सम्पादन र प्रकाशन गरेर उहाँलाई राष्ट्रिय स्तरमा परिचित गराउने व्यक्तिका रूपमा स्वीकार गरेका छन्। तर केही अनुसन्धानकर्ता र साहित्यिक वृत्तमा अर्को प्रश्न पनि उठ्ने गरेको छ।

त्यो प्रश्न के हो भने, बनारसमा अध्ययन गरेर फर्किएका मोतिराम भट्टले त्यहाँ प्रचलित घाँसी र कुवा निर्माणसम्बन्धी कथालाई भानुभक्तको जीवनीसँग जोडेर प्रस्तुत गरे कि? यसबारे थप अनुसन्धान आवश्यक देखिन्छ। त्यसैगरी, भानुभक्तका नाममा प्रकाशित केही कृतिहरूको पाठ, भाषा, शैली र सम्पादन प्रक्रियाबारे पनि समय–समयमा प्रश्न उठाइएका छन्। कतिपयले केही अंश वा केही रचनाहरूमा मोतिराम भट्टको सम्पादकीय हस्तक्षेप मात्र होइन, सृजनात्मक योगदानसमेत हुन सक्ने तर्क गरेका छन्।

यसै कार्यक्रममा तेजगङ्गा बहुमुखी क्याम्पसका प्रमुख आदरणीय अम्भु भवानीले प्रदेश सभामा नेवारी भाषामा सोधिएको प्रश्नको जवाफ तामाङ भाषामा दिइएको प्रसङ्ग उठाउँदै भाषिक एकरूपताको कुरा गर्नुभयो। तर नेपालको यथार्थ बहुभाषिक हो। संविधानले सबै मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छ भने बागमती प्रदेशले खस नेपाली, तामाङ र नेपाल भाषालाई सरकारी कामकाजका भाषा मानेको छ। यस्तो अवस्थामा “भाषिक एकरूपता” का नाममा एउटै भाषालाई मात्र माध्यम बनाउनुपर्ने आग्रहले बहुभाषिक नेपालको संवैधानिक मर्मसँग मेल खान्न।

मार्क्सवादी तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले भानुभक्तलाई न अन्धभक्तिपूर्वक महिमामण्डन गर्छ, न त पूर्ण रूपमा अस्वीकार। उहाँ आफ्नो समयका सन्तान हुनुहुन्थ्यो। सामन्तवादी समाज, धार्मिक चेतना र तत्कालीन मूल्य–मान्यताले उहाँका कृतिलाई प्रभावित गर्नु स्वाभाविक थियो। त्यो उहाँको व्यक्तिगत कमजोरीभन्दा पनि इतिहासले दिएको सीमा थियो।

तर यही सीमाभित्र पनि उहाँको ऐतिहासिक भूमिका महत्वपूर्ण छ। संस्कृत भाषामा सीमित रहेको रामायणलाई जनभाषामा रूपान्तरण गरेर उहाँले ज्ञानलाई सीमित वर्गको घेराबाट केही हदसम्म बाहिर ल्याउनुभयो। त्यस अर्थमा उहाँ खस नेपाली भाषाको विकासका महान् अभियन्ता र नेपाली साहित्यका एक युगनिर्माता व्यक्तित्व हुनुहुन्छ।

तर आलोचनात्मक दृष्टिले हेर्दा उहाँका कृतिहरूले तत्कालीन वर्गीय शोषण, जातीय विभेद, लैङ्गिक असमानता वा श्रमजीवी जनताको जीवनलाई आफ्नो मुख्य विषय बनाएनन्। उहाँको साहित्यले विद्यमान सामाजिक संरचनाको मूलभूत आलोचना पनि गरेन। त्यसैले उहाँलाई आधुनिक अर्थमा जनवादी वा क्रान्तिकारी कवि भन्न सकिँदैन। उहाँ इतिहासको एउटा महत्वपूर्ण कडी हुनुहुन्छ, तर इतिहासको अन्तिम निष्कर्ष होइन।

आज भानुभक्तलाई सम्झनु भनेको उहाँको योगदानको सम्मान गर्नु मात्र होइन, उहाँसँग जोडिएका स्थापित मान्यताहरू, उपाधिहरू र किंवदन्तीहरूको पनि प्रमाणका आधारमा पुनर्परीक्षण गर्नु हो। महान् व्यक्तित्वहरूलाई मिथक बनाएर होइन, इतिहासको धरातलमा उभिएर मूल्याङ्कन गर्दा मात्र हामी वैज्ञानिक र आलोचनात्मक चेतनाको विकास गर्न सक्छौँ।

भानुभक्तको योगदानलाई सम्मान गरौँ, तर सम्मानको नाममा प्रश्न गर्ने अधिकार नखोसौँ। किनकि प्रश्नले नै अनुसन्धान जन्माउँछ, अनुसन्धानले सत्यको खोजी गर्छ, र सत्यको खोजी नै वैज्ञानिक तथा प्रगतिशील चेतनाको आधार हो।
पुनः भानुभक्तप्रती हार्दिक श्रद्धाञ्जली । आयोजकलाई साधुवाद ।
(२०८३/३/३० बनेपा काभ्रे )