मुकुन्दो नाचमाथिको अनुसन्धानात्मक कृतिलाई मदन पुरस्कार

+
-

काठमाडौं । यस वर्षको मदन पुरस्कार नेवारी समुदायको परम्परागत मुकुन्दो नाचमाथि अनुसन्धान गरी तयार पारिएको कृतिलाई प्रदान गर्ने निर्णय भएको छ।

मदन पुरस्कार गुठीका अनुसार बयासी वर्षीय लेखक वीणा जोशी राजभण्डारीद्वारा लिखित उक्त पुस्तक नेवारी समुदायमा पुस्तौँदेखि चल्दै आएको परम्परागत मुकुन्दो नाचको इतिहास, संस्कृति र परम्पराबारे अनुसन्धानात्मक दस्तावेज हो।

सांस्कृतिक अभिलेखका दृष्टिले महत्त्वपूर्ण रहेको र नेपालको मौलिक संस्कृति तथा परम्पराको संरक्षणमा योगदान पुर्‍याएको भन्दै उक्त कृतिलाई मदन पुरस्कारका लागि छनोट गरिएको गुठीले जनाएको छ।

लेखक जोशीका अनुसार पुस्तकले नेपालको मौलिक संस्कृति, परम्परा र पुस्तान्तरणलाई जोड्ने सुरक्षित दस्तावेजको भूमिका निर्वाह गर्नेछ।

यस वर्ष मदन पुरस्कारका लागि विभिन्न कृतिमध्ये अन्तिम १० मा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्सर्ग’, रोशनकुमार झाको ‘नेपाल मण्डलसँग जोडिएको सिम्रनगढको इतिहास’, उमा सुवेदीको ‘परिधि’, सीमाआभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीसको ‘हिउँद’ लगायतका कृति मनोनयनमा परेका थिए।

अन्तिम सूचीमा परेका उत्कृष्ट कृतिमध्ये तीन जना महिला र सात जना पुरुष लेखकका कृति थिए। तीमध्ये गैरआख्यान तर्फ जोशीको कृति मदन पुरस्कारका लागि सर्वश्रेष्ठ कृतिका रूपमा छनोट भएको हो। मदन पुरस्कार नेपाली साहित्य तथा संस्कृति क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित पुरस्कारका रूपमा परिचित छ।