बा – केशव ज्ञवाली ‘आगत’

+
-

बा

छोराछोरीका सपनाहरू पूरा गर्दा गर्दै
बा बूढो हुनुभयो
बाका सपनाहरू बूढा भए
तैपनि
बाले कुनै गुनासो गर्नुभएन कहिल्यै।

बाटोमा जताततै बाका थकित पदचापहरू छन्
तैपनि
बा हिँडिरहनुभयो, हिँडिरहनुभयो
जिम्मेवारीको गह्रुङ्गो भारी बोकेर।

बा कसैलाई भन्नुहुन्न तर
छोराछोरीको मायामा पग्लिने
एउटा न्यानो मन हुन्छ बाको पनि।

आफ्ना हजार दुःखहरू बिर्सेर
छोराछोरीको खुसीमा हाँस्नुहुन्छ बा।

बाका योगदानहरूको महिमा सम्झिँदै
बा नहुनुको पीडामा छन् धेरै सन्ततिहरू
तैपनि
बाले बनाएको घरमा बसेर
जसरी तिमीले
बालाई वृद्धाश्रममा पठायौ
त्यसरी नै तिम्रो पालो आउँनेछ भोलि।

रूरूक्षेत्र – गुल्मी
हाल – सूर्यविनायक,भक्तपुर।