काभ्रेपलाञ्चोक । नेपाल बौद्धिक परिषद् काभ्रेपलाञ्चोक जिल्ला शाखाले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा खुला कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ।
साहित्यकार हरिमञ्जुश्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बौद्धिक परिषद् काभ्रेपलाञ्चोकका अध्यक्ष केशव थापाको अध्यक्षता रहेको थियो। कार्यक्रममा डा. अम्बु भवानी कार्की र डा. विष्णु वस्ती विशिष्ट अतिथिका रूपमा तथा रक्तिम लामा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरिमञ्जुश्रीले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानलाई समकालीन दृष्टिकोणबाट पुनः अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भानुभक्तलाई केवल परम्परागत श्रद्धाको विषय मात्र नभई आलोचनात्मक दृष्टिबाट पनि अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँका अनुसार भानुभक्तले रामभक्ति धारामा आधारित रामायण नेपाली भाषामा रचना गर्नुभन्दा करिब २० वर्षअघि नै काभ्रेको मण्डनदेउपुरमा जन्मिएका बसन्त शर्मा लुइटेलले कृष्णभक्ति धारामा कृष्ण चरित्र लेखेको विभिन्न अनुसन्धानले देखाएको छ । साथै, भानुभक्तका केही कृतिहरूमा महिलाप्रतिको प्रस्तुतिलाई वर्तमान समाजको दृष्टिकोणबाट पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
विशिष्ट अतिथि डा. अम्बु भवानी कार्कीले भानुभक्त आचार्यलाई यसरी निरन्तर स्मरण गर्नु भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा विकासप्रति युवापुस्ताको सक्रिय चासोको संकेत भएको बताउनुभयो।
विशेष अतिथि तथा प्रगतिशील लेखक सङ्घ काभ्रेका अध्यक्ष रक्तिम लामाले भानुभक्तका कृतिहरूले दुई सय वर्षअघिको नेपाली समाज, सामाजिक संरचना र यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको उल्लेख गर्दै उहाँको योगदान नेपाली साहित्यका लागि सदैव स्मरणीय रहने बताउनुभयो । उहाँले भानुभक्तका साहित्यमा उठाइएका विषयवस्तुमाथि आधुनिक दृष्टिकोणबाट थप अध्ययन, अनुसन्धान र शोधपत्र तयार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
कार्यक्रममा करिब डेढ दर्जन कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए। कविता वाचन गर्ने स्रष्टाहरूमा केशव थापा, यादव थापा, सुभद्रा अधिकारी, कालिका त्रिपाठी, श्रीकृष्ण पाण्डे, रक्तिम लामा, रामचन्द्र भट्टराई, अच्युत अधिकारी, सरस्वती चिमौरीया, मुरहरि राईमाझी, बलराम बजगाईँ, केदारनाथ तिमल्सिना तथा शिव पञ्जरा लगायत सहभागी हुनुहुन्थ्यो ।


