कविता : हामी यता कि उता ?
केटाकेटी भन्छन्,
हामीलाई प्रायः खेल्नु पर्छ,
हाँस्नु पर्छ,अनि रुनु,चल्नुपर्छ
तर हामीलाई
हाँसोको पनि सीमा तोकिदिन्छन
आँसुको पनि समय
बच्चा भन्छन्-
हामीलाई बच्चा भनेर
भित्तामा कोर्न दिँदैनन्,
यताउती बस्त्र फाल्न दिँदैनन्
कराएर बोल्न मिल्दैन
घरैभित्र पनि हराउन हुँदैन
त्यहि भएर होला
आफ्नै घरको कोठा,चोटा र भित्ता आफ्नै लाग्दैन…
जताततै कोर्न मन लाग्छ
भेटेको जति सोहोर्न मन लाग्छ
यताउता खोज्दा
रङ त भेटिन्छ तर कागज भेटिन्नँ …
मनको मैलो पुछ्न पानी भेटिन्नँ
उफ्रनु नै जिन्दगी हो भन्ने बेला
सोफा, खाट, खटियामा उफ्रन दिँदैनन्,
मोबाइल, ल्यापटप छुन दिँदैनन्,
छुन चै नदिने अनि
आफुलाई चलाउन आएन भने
यो के भयो हेर हेर भन्छन्
अनि सिकाइ दिन पर्ने।
केटाकेटी एक्लै हिँड्न नहुने,
भित्र-बाहिर गर्न नहुने,
कोही कसैलाई घरमा बोलाउन नहुने,
नसोधी कसैकोमा जान नहुने।
बिहान-साँझ रुन नहुने,
ठूला बसेको ठाउँमा बस्न नहुने,
बसिहाले पनि बोल्न नहुने,
नयाँ मान्छेको अगाडि केही माग्न नहुने,
केटाकेटी भएर घरघर चार्न नहुने।
कस्तो विडम्बना !
कसैकोमा केही हराए
घर बाहिरबाटै शंका गर्ने,
नजिकै परे तल-माथि
खल्ती खोतल्ने,
सानो गल्तीलाई पनि
ठूलै स्वरले सातो खोतल्ने
अनि फेरि भनिरहँने,
घर – आँगनमा
केटाकेटी नभई नहुने
केटाकेटी नभएको घर उज्यालै नहुँने
केटाकेटी नभई नहुने
भएर पनि
चिन्न नसक्ने,
बुझ्न नसक्ने,
सुन्न नसक्ने जस्ता उपमा पाइने
हामी उस्ता कि ?
केटाकेटी त्यस्ता ?
केटाकेटी भन्हाछन्-
हामी त केवल
भित्तामा एउटा घाम कोर्न चाहन्छौं,
खटियामा उफ्रँदै आकाश छुन चाहन्छौं,
हामी एक्लै हिँड्दै आफ्नै बाटो चिन्न चाहन्छौं,
एकदिन
तिमीहरूले तोकेको घेराबाट बाहिर,
आफुले आफैंलाई भेट्न चाहन्छौं।
५ असोज २०८३


