– शिशिर भण्डारी
आज फेरि
एउटा
नागरिक जल्यो ।
तर
उसको शरीरमात्रै
खरानी बनेन –
यो देशको विवेक पनि
आज
अलिकति कालो भयो ।
आज
एउटा मानिस मात्रै मरेन ।
राज्यको अनुहारमा
अर्को चिरा थपियो ।
गणेश नेपालीहरू
आगो भएर मात्रै गएनन् –
उनीहरूले
देशको छातीभित्र दबाइएको तापक्रम सार्वजनिक गरे ।
सरकार !
तिम्रा कानहरू बन्द छन् कि
जनताको चित्कार नै
तिम्रो शासनको
असुविधाजनक आवाज हो ?
तिमीले
शायद धुवाँ देख्यौ होला,
तर आगो देखेनौ ।
किनकि
सत्ताको आँखाले
जलिरहेको मान्छे भन्दा
जलिरहेको तथ्यांक सजिलै देख्छ ।
आज अस्पतालमा एउटा शरीर
जीवनसंग हारिरहेको थियो,
तर सडकमा –
हजारौँ हेल्मेटभित्र उस्तै थकान,
उस्तै डर,
उस्तै रिस,
धड्किरहेको थियो ।
खल्तीमा
असी रुपैयाँको आवाज थियो,
सामुन्ने
दश हजारको यमराज ।
कानुन
कागजमा थियो,
तर न्याय
भोकले पढिरहेको थियो ।
ए सरकार !
तिमीले रसिद लेख्यौ ।
उसले
आमाको औषधि सम्झियो ।
तिमीले
अनुशासन भन्यौ ।
उसले
छोरीको कापी सम्झियो ।
तिमीले
व्यवस्था भन्यौ ।
उसले
चुलोको खरानी सम्झियो ।
देशको अर्को कुना –
होल्डिङ सेन्टरहरूमा मानिसहरू
आफ्नै देशभित्र
आफ्नो अस्तित्व कुर्दै छन् ।
भोक
लाइनमा उभिएको छ,
आशाहरू
रासनजस्तै बाँडिने प्रतीक्षामा छन् ,
तिमी भने –
आफ्नै घोषणापत्रको छायाँमा
मस्त आराम गरिरहेको छौ ।
तिमीले त –
राज्य र नागरिक बीचको दूरी
दायित्वको
पारामिटरले होइन,
असंख्य
अपमानले नाप्न थाल्यौ ।
आज
गणेश नेपालीहरू
एउटा नाम मात्र होइनन् ।
उनीहरू
भोलिको किस्ता तिर्न नसकेर
रातभरि
निदाउन नसक्ने हरेक आँखामा छन् ।
उनीहरू
मोबाइलको स्क्रिनमा
राइड होइन,
बाँच्ने सम्भावना रिफ्रेस गरिरहेका
हरेक औँलामा छन् ।
उनिहरू
विदेश जाने लाइन
र स्वदेशमै आत्मसमर्पण गर्ने लाइनबीच
अल्मलिएको हरेक युवामा छन् ।
उनीहरू
देशको अर्थतन्त्रलाई पसिनाले धानेर
आफ्नो घरको
चुलो निभ्न नदिने हरेक काँधमा छन् ।
र उनीहरू
एउटै प्रश्न भएर
सडकभरि उभिएका छन्—
“सरकार !
हामी बाँच्न खोजेका हौँ—
न कि तिम्रा नीतिहरूको
मूल्य तिर्न मात्र जन्मिएका हौँ ?”
सुन सरकार !
मानिसहरू
आगो बन्न चाहँदैनन् ।
तर, जब –
न्यायको ढोका बन्द हुन्छ,
भोकलाई अपराध बनाइन्छ,
गरिबीलाई सजाय दिइन्छ,
त्यतिबेला
आगो आफ्नो भाषा आफैँ लेख्छ ।
इतिहासले
कसले कति जल्यो भनेर लेख्दैन ।
उसले त
यति मात्र लेख्छ –
आगो लाग्नु अघि
राज्य कति निर्दयी भएर मौन थियो ।
सावधान सरकार !
खरानीबाट धुवाँ मात्र उठ्दैन ।
कहिलेकाहीँ
त्यहीँबाट इतिहास उठ्छ ।
– २०८३ असार २७ गते ।

