अ+
अ
अ-
म जस्तै
काठमाडौं बन्न
गाउँहरु सहरतिर
बेलगाम दौडिरहेका छन्
साना गाउँ
ठुला गाउँ
चाहे गाउँपालिका भन्नुस्
चाहे नगरपालिका भन्नुस्
ती पालिका हुन्
कि गैरपालिका हुन्
के बन्न खोजेका हुन्
के बनाउन चाहेका हुन्
तिनलाई नै थाहा छैन
छाडेर बासस्थान
आफन्त र गैरआफन्त
केही सेकेन्ड ह्यान्डका
बुलडोजर अनुहारका
सिंहदरबार टाइपका
केही नखोस्री नबनाई
बिल भरपाईमा
बाटो पुल स्कुल क्याम्पस
अस्पताल छाप्ने मार्काका
मानिस भने देखिन्छन्
कहिलेकाहिं
हामी त भित्रिसकेका छौं
यतातिर
अनकन्टार भयानक
अर्कै जङ्गलतिर
बसाइ सर्ने सोचमा
एअरपोर्टतिर लागेका छौं
भन्न त
काठमाडौंले भन्छ
म जस्तै बन
तर मलाई
आवश्यक छैन
दरबार भएको
कुनै क्रूर सहर
धनतान्त्रिक अर्थात्
कुरूप संसदीय सत्ता
सत्ता चाकरीमा सधैं लिप्त
बौद्धिक साहित्यकार कलाकार
अखबार ठुलासाना च्यानल
जिउने र लड्ने हतियार
नभए पछि र बेचेपछि
हुने त यस्तै रहेछ
म त काठमाडौं हुँ
मेरै टाउकामााथिबाट
यहाँको बासना रूप जवानी
प्रेम कविता गीत
अन्त कतै गइरहेको
फगत हेरिरहेको छु


