नेपाली वाम आन्दोलनकाे यात्रा र भविष्यकाे प्रश्न- पुष्पलालदेखि प्रचण्डसम्म 

+
-

 

नेपालको आधुनिक इतिहासलाई एउटा प्रश्नले निरन्तर पछ्याइरहेको छ—किन नेपालमा परिवर्तनका सबै ठूला राजनीतिक आन्दोलनहरूमा वाम शक्तिहरू निर्णायक रूपमा उपस्थित रहे ?

यो प्रश्नको उत्तर खोज्न केवल एमाले, माओवादी वा कुनै एक नेताको इतिहास हेरेर पुग्दैन । यसको उत्तर नेपालको सामाजिक संरचना, राज्यको चरित्र, आर्थिक सम्बन्ध र जनताको राजनीतिक चेतनाको विकासक्रममा खोज्नुपर्छ ।

नेपालमा वाम आन्दोलन किन जन्मियो ? के यो आयातित थियो ?

नेपालमा वाम आन्दोलन केवल मार्क्सवादको आयात थिएन । नेपालमा कम्युनिस्ट आन्दोलनको जन्म सोभियत संघ वा चीनको प्रभावबाट मात्र भएको भन्ने कतिपयको बुझाइ पनि छ; त्यो अधुरो छ ।

जसको सामाजिक आधार थियो—सामन्तवाद, जमिनको असमान वितरण, जातीय र लैङ्गक विभेद, वर्गीय शोषण, गरिबी र राजनीतिक बहिष्करण ।

त्यसैले वाम आन्दोलनले हजारौं युवालाई आकर्षित गर्‍यो । र कम्युनिस्ट आन्दोलनले आधार पायो । अर्थात् वाम आन्दोलन नेपालको आफ्नै ऐतिहासिक आवश्यकताबाट जन्मिएको आन्दोलन थियो । बरू यसलाई सबैभन्दा पहिले वैचारिक रूप दिने व्यक्ति मध्येका नेता थिए पुष्पलाल ।

नेपालमा वाम आन्दोलनले तीनवटा ठूला राजनीतिक योगदान दियो । पहिलो, निरंकुश व्यवस्थाविरुद्ध संगठित प्रतिरोध । दोस्रो, सामाजिक न्याय र समानताको प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनु । र तेस्रो, लोकतन्त्रलाई केवल निर्वाचन होइन, सामाजिक रूपान्तरणसँग जोड्ने प्रयास ।

पुष्पलाल – एउटा विचारको जन्म:

पुष्पलालले नेपालमा केवल नेपाल कम्युनिस्ट पार्टीको स्थापना मात्रै गरेनन् । उनले पहिलो पटक नेपाली राजनीतिमा एउटा गम्भीर प्रश्न उठाए — राज्य कसको लागि हो ? के राज्य केवल शासक वर्गको सुरक्षा गर्ने संयन्त्र मात्रै हो ? कि राज्य भनेको किसान, मजदुर, महिला, दलित, गरिब र उत्पीडित समुदायको पनि हुनुपर्छ ?

ऐतिहासिक रूपमा हेर्ने हो भने, आज संविधानमा लेखिएका धेरै अधिकारहरूको वैचारिक बीउ त्यही आन्दोलनले रोपेको थियो । त्यसैले पुष्पलाल केवल एउटा पार्टीका नेता होइनन् । उनी नेपालमा राजनीतिक समानता र समाजवादी चेतनाको वैचारिक आधार निर्माण गर्ने प्रमुख व्यक्तित्व मध्ये एक हुन् ।

पुष्पलालपछि नेपाली वाम आन्दोलन अनेक विभाजन, पुनर्गठन र वैचारिक बहसबाट अघि बढ्यो । पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, झापा आन्दोलन, भूमिगत राजनीतिक संगठन र विभिन्न कम्युनिस्ट धाराहरूको विकासले आन्दोलनलाई विस्तार त गरायो, तर वैचारिक एकरूपता भने कायम रहन सकेन ।

शीतयुद्धको अन्त्य र विश्व कम्युनिस्ट आन्दोलनमा आएको परिवर्तनसँगै नेपाली वाम आन्दोलनले पनि नयाँ वैचारिक दिशाको खोजी गरिरहेको थियो । यही ऐतिहासिक पृष्ठभूमिमा मदन भण्डारीले “जनताको बहुदलीय जनवाद” मार्फत नयाँ वैचारिक बहस प्रस्तुत गरे ।

मदन भण्डारी – विचारको नेपालीकरण:

शीतयुद्ध समाप्त भयो । सोभियत संघ विघटन भयो । विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । उनले विश्व कम्युनिस्ट आन्दोलनको अनुभवबाट सिक्दै बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक प्रक्रियालाई समाजवादको मार्गसँग जोड्ने वैचारिक प्रयास गरे । र एउटा ऐतिहासिक प्रश्न उठाए — के लोकतन्त्रबिनाको समाजवाद सम्भव छ ?

उनको उत्तर थियो— छैन । त्यसैले उनले जनताको बहुदलीय जनवाद प्रस्तुत गरे ।
यसले नेपाली वाम आन्दोलनलाई बलप्रयोग र बन्दुकबाट होइन, मतपेटिकाबाट परिवर्तन सम्भव छ भन्ने नयाँ तर्क दियो ।

प्रचण्ड र जनयुद्ध – राज्य पुनर्संरचनाको चरण:

तर इतिहास यहीं रोकिएन । २०४६ को लोकतन्त्र पछि पनि लाखौं नेपालीले राज्यलाई आफ्नो ठानेनन् ।

दलित अझै किनारामै थिए । महिला र जनजाति प्रतिनिधित्व बाहिर नै थिए । मधेश असन्तुष्ट थियो । पश्चिम नेपाल विकासबाट दुर नै थियो । यही ऐतिहासिक अन्तरविरोधबाट माओवादी जनयुद्ध जन्मियो ।

जनयुद्धको बलप्रयोगको स्वरूप र त्यस क्रममा दुवै पक्षबाट भएका कतिपय मानवअधिकार उल्लङ्घन र ठूलो मानवीय क्षतिलाई आलोचनात्मक दृष्टि राख्ने गरिन्छ ।  तर यसो भन्दैमा अर्को सत्य पनि मेटिँदैन । त्यो हो— आजको लोकतान्त्रिक संघीयता, समावेशी प्रतिनिधित्व, गणतन्त्र, संविधानसभा, धर्मनिरपेक्षता, राज्य पुनर्संरचना । यी सबै प्रश्नलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउन प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धको ठूलो उपलब्धि थियो ।

यसै सन्दर्भमा प्रचण्डको सबैभन्दा ठूलो ऐतिहासिक योगदान जनयुद्ध मार्फत राजनैतिक क्रान्तिको (एउटा चरणको) सफल्ता मात्रै होइन । युद्धबाट शान्तिमा आएको राजनीतिक निर्णय पनि हो ।

वाम आन्दोलनका ऐतिहासिक उपलब्धि:

नेपालको राजनैतिक इतिहासमा यदि कसैले निष्पक्ष मूल्याङ्कन गर्छ भने, वाम आन्दोलनका केही ऐतिहासिक उपलब्धिलाई अस्वीकार गर्न सकिँदैन।

२०४६ को जनआन्दोलनमा निर्णायक भूमिका ।
आम रूपमा राजनीतिक अधिकार र चेतनाको  विस्तार । श्रमिक, किसान, महिला, दलित र उत्पीडित समुदाय र क्षेत्रका मुद्दालाई मूलधारमा ल्याउनु । संविधानसभा, गणतन्त्र स्थापना र राज्य पुनर्सँरचनाको प्रक्रियामा प्रमुख भूमिका । संघीयता, समावेशिता, सामाजिक सुरक्षा, श्रम अधिकार र न्यायका बहसलाई संस्थागत बनाउनु । सामाजिक समावेशिताको संवैधानिक संस्थाकरण गर्नु ।

आज यी उपलब्धिहरू नेपालको समग्र लोकतान्त्रिक समाजवादी यात्राका उपलब्धि भएका छन् ।

तीन नेता – एउटै ऐतिहासिक यात्रा:

यदि पुष्पलाल, मदन भण्डारी र प्रचण्डलाई प्रतिस्पर्धी इतिहासका रूपमा पढ्यौं भने नेपाली राजनीति बुझिँदैन । उनीहरूलाई एउटै आन्दोलनका फरक अध्यायका रूपमा बुझ्दा सहि हुन्छ ।

जहाँ पुष्पलालले प्रश्न उठाए । मदनले तत्कालिन उत्तर खोजे । र प्रचण्डले सैद्धान्तिक उत्तर मात्रै होइन् राज्यलाई तत्काल जबर्जस्त ब्यवहारीक परिवर्तन गर्न बाध्य बनाए ।

त्यसपछि आन्दोलन किन संकटमा पुग्यो ?

हो, यहीँबाट सबैभन्दा कठिन प्रश्न सुरु हुन्छ । आज जनता वाम विचारबाट होइन, वाम नेतृत्वबाट निराश देखिन्छन् । समस्या विचारमा भन्दा व्यवहारमा देखिन थाल्यो । वाम आन्दोलनले राज्य संरचनामा परिवर्तन गर्‍यो, तर राजनीतिक संस्कृतिको पर्याप्त रूपान्तरण र आर्थिक विकासका स्पष्ट योजना प्रस्तुत गर्न सकेन ।

किनभने, विचार र संस्थाभन्दा नेता ठूलो भयो ।दलभित्र लोकतन्त्र कमजोर भयो । गुट, विभाजन र पुनःएकताको चक्र कहिल्यै टुङ्गिएन । सिद्धान्त भन्दा गठबन्धन ठूलो भयो । भ्रष्टाचार, संरक्षणवाद र अवसरवादका आरोप घटेनन् बरू बढे । सामाजिक न्यायभन्दा सत्ता केन्द्रमा आयो ।
राजनीति; उत्पादन भन्दा नियुक्तिमा सीमित भयो ।
समाजवाद भन्दा सत्ता व्यवस्थापन प्राथमिकता बन्यो ।

आज धेरै युवाले प्रश्न गर्छन्—यदि सबै वाम दल अन्ततः सत्ताका लागि मात्रै प्रतिस्पर्धा गर्छन् भने उनीहरूको वैचारिक भिन्नता कहाँ रह्यो ? यही प्रश्न अहिलेको वाम आन्दोलनको सबैभन्दा ठूलो चुनौती हो ।

के त्यसो भए नेपालमा वाम आन्दोलन समाप्त भयो ?

मेरो विश्लेषणमा छैन । किनकि यदि “वाम विचार” भन्नाले सामाजिक न्याय, सार्वजनिक शिक्षा, सार्वजनिक स्वास्थ्य, श्रमिक अधिकार, आर्थिक असमानता घटाउने नीति र राज्यको सामाजिक उत्तरदायित्व बुझिन्छ भने यसको आवश्यकता आज पनि समाप्त भएको छैन ।

नेपालको वाम आन्दोलनको दीर्घजीविता केवल संगठनात्मक शक्तिका कारण होइन । नेपाली समाजमा विद्यमान सामाजिक असमानता, ग्रामीण गरिबी, कमजोर औद्योगिकीकरण, सीमित सामाजिक सुरक्षा र राज्यप्रतिको अपेक्षाले पनि वाम विचारलाई निरन्तर सामाजिक आधार प्रदान गरिरह्यो । त्यसैले नेतृत्व संकटमा परे पनि वाम विचारको सामाजिक आधार पूर्ण रूपमा समाप्त भएको देखिँदैन ।

विश्वव्यापी रूपमा बढ्दो आर्थिक असमानता, बेरोजगारी, जलवायु संकट र बजारको अत्यधिक केन्द्रीकरणले बरू नेपालमा मात्रै होइन कि विश्वमै सामाजिक लोकतन्त्र र वाममुखी कल्याणकारी नीतिको बहसलाई फेरि बलियो बनाइरहेको छ ।

बरू आज नेपालले सामना गरिरहेको सबैभन्दा ठूला प्रश्नहरू – पूजीँ केही निश्चितको हातमा केन्द्रित हुँदै गएको छ । युवा विदेश गइरहेका छन् । कृषि कमजोर छ । उद्योग छैन । शिक्षा महँगो हुँदै गएको छ । स्वास्थ्य र शिक्षा निजीकरणतर्फ गइरहेको छ । जलवायु संकट बढिरहेको छ । यी प्रश्नको उत्तर पूर्ण रूपमा अनियन्त्रित बजारले दिएको छैन ।

यसैले सामाजिक न्याय, सार्वजनिक लगानी, उत्पादनमुखी अर्थतन्त्र र समान अवसरको बहस अझै पनि सान्दर्भिक छ, र यी सबै मूलतः वाम राजनीतिक चिन्तनका विषय हुन् ।

तर यदि वाम राजनीति केवल पुराना नेतृत्व, संगठनात्मक जडता र सत्तामुखी व्यवहारमा मात्रै सीमित रहन्छ भने त्यसको आकर्षण स्वाभाविक रूपमा घट्छ । अर्थात् यहाँ संकट विचारको भन्दा नेतृत्व र अभ्यास (व्यवहार)को बढी हो ।

तर भविष्यको वाम कस्तो ?

यहीँ सबैभन्दा ठूलो वैचारिक प्रश्न छ । यदि वाम आन्दोलन अझै पनि इतिहासको पुनरावृत्तिमा अड्कियो भने उसको भविष्य छैन । अर्को कुरा
आधारभुत राजनितिमा आएको बदलावको ठोस बिश्लेषणको पनि जरूरी छ ।

यदि उसले पुष्पलालको वैचारिक स्पष्टता,
मदनको लोकतान्त्रिक नवप्रयोग, प्रचण्डको संरचनात्मक परिवर्तनको साहस, र आजको पुस्ताको विज्ञान, प्रविधि, हरित अर्थतन्त्र, उद्यमशीलता र सुशासनको मागलाई जोड्न सक्यो भने नेपालको राजनीतिक भविष्य फेरि वाम आन्दोलनकै हातमा जान्छ ।

त्यसैले अबको वाम आन्दोलन पुरानो शैलीमा होइन । भविष्यको वाम आन्दोलनले – विचारसंगै परिणाम, नाराभन्दा नीति, व्यक्ति भन्दा संस्था, जडताको क्रान्ति भन्दा सुशासन, र केवल वर्गीय भाषा मात्रै भन्दा पनि नागरिक अधिकार र समान अवसरलाई केन्द्रमा राख्नुपर्ने देखिन्छ ।

यदि त्यसो गर्न सकेन भने “वाम” केवल इतिहासको गौरव बन्न सक्छ; भविष्यको शक्ति बन्न सक्दैन ।

आज उठिरहेको कार्यगत एकता र एकताको सवाल:

आज मुख्यत: केही शिर्ष वाम नेताले गरिरहेका कार्यगत एकता देखि पार्टी एकताको विचारहरू  केवल समाचार मात्र होइन । यो एउटा ऐतिहासिक प्रश्नको प्रतीक पनि बन्न सक्छ ।

तर, के नेपाली वाम आन्दोलन फेरि आत्मसमीक्षा गर्न तयार छ ? यदि तयार छ भने – त्यो केवल हिजोकै स्वार्थ र चुनावी एकता बाट हुँदैन । त्यो वैचारिक पुनर्जागरणबाट मात्र सम्भव हुन्छ ।

निष्कर्ष :

नेपाल आज एउटा नयाँ मोडमा छ । एकातिर पुराना दलहरूप्रति असन्तुष्टि छ । अर्कोतिर वैकल्पिक भनिएका शक्तिहरू अझै स्पष्ट नीति र संस्थागत क्षमतासहित स्थापित हुन सकेका छैनन् ।

युवाहरू रोजगारी, गुणस्तरीय शिक्षा, सुशासन, डिजिटल अर्थतन्त्र र अवसर खोजिरहेका छन् । उनीहरूलाई “समाजवाद” वा “पूँजीवाद” भन्दा बढी परिणाम चाहिएको छ । त्यसैले आजको राजनीतिमा वैचारिक नाराभन्दा नीतिगत विश्वसनीयता महत्त्वपूर्ण बन्दै गएको छ ।

नेपालको राजनीतिक इतिहासले प्रमाणित गरेको छ कि यस देशका सबै ठूला लोकतान्त्रिक र संरचनात्मक परिवर्तनमा वाम आन्दोलन नै निर्णायक शक्ति रह्यो । तर त्यसैले मात्र भविष्यमा पनि वाम नेतृत्व स्वाभाविक रूपमा वैध हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन । भविष्यको वैधता इतिहासबाट होइन, वर्तमानको कार्यसम्पादनबाट प्राप्त हुन्छ ।

नेपालको सामाजिक बनोट, आर्थिक असमानता, विकासको अवस्था र समावेशी राज्यको अपूरो परियोजनालाई हेर्दा सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र, सार्वजनिक उत्तरदायित्व र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राख्ने वाम वैचारिक आधार अझै पनि सान्दर्भिक देखिन्छ ।

तर त्यो वामपन्थ नारा-प्रधान होइन, नीति-प्रधान; व्यक्तिकेन्द्रित होइन, संस्थाकेन्द्रित; बन्द विचार होइन, आत्मालोचनात्मक; सत्ता-केन्द्रित होइन, समाज-केन्द्रित हुनुपर्छ ।

इतिहासले कुनै पनि विचारलाई स्थायी वैधता दिँदैन; प्रत्येक पुस्ताले आफ्नो कार्य, नीति र नैतिकताबाट त्यसलाई पुनः प्रमाणित गर्नुपर्छ । नेपाली वाम आन्दोलन पनि यही ऐतिहासिक परीक्षाको मोडमा उभिएको छ ।

वाम आन्दोलनको भविष्य केवल एउटा राजनीतिक धाराको भविष्य होइन; त्यो नेपालको लोकतन्त्र, सामाजिक न्याय र समावेशी विकासको दिशासँग पनि गाँसिएको प्रश्न हो । त्यसैले यसको आत्मसमीक्षा र रूपान्तरणले एउटा दलको मात्र होइन, समग्र नेपाली लोकतान्त्रिक यात्रालाई पनि प्रभाव पार्न सक्छ ।

पुष्पलालले विचार दिए, मदन भण्डारीले लोकतान्त्रिक रूपान्तरणको बाटो देखाए, प्रचण्डले राज्य पुनर्संरचनाको प्रश्नलाई निर्णायक बनाएका छन् ।

अब इतिहासले नयाँ पुस्तासामु राखेको प्रश्न एउटै छ—के नेपाली वाम आन्दोलनले पुष्पलालको वैचारिक स्पष्टता, मदन भण्डारीको लोकतान्त्रिक नवप्रयोग र प्रचण्डले उठाएको राज्य पुनर्संरचनाको प्रश्नलाई २१औँ शताब्दीको ज्ञान, प्रविधि, उत्पादन र सुशासनसँग जोडेर नयाँ अर्थ राजनीतिक परियोजना निर्माण गर्न सक्छ ?

यदि सक्छ भने, नेपालको विकास यात्रा र राजनीतिक भविष्यमा वाम विचारको सान्दर्भिकता केवल इतिहासको स्मृतिमा सीमित रहनेछैन; त्यो भविष्य निर्माणको प्रेरक शक्तिका रूपमा पुनः स्थापित हुन सक्छ ।

मलाई लाग्छ यही प्रश्न नै आजको नेपाली वाम राजनीतिमा सबैभन्दा गहिरो र सबैभन्दा निर्णायक प्रश्न हो ।

२०८३ असार १९ गते ।