काठमाडौं । कथाकार तथा पत्रकार लक्ष्मण अधिकारीद्वारा लिखित कथा सङ्ग्रह ‘डोपामिन’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। कामना न्युज पब्लिकेसन प्रालिको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले कथा सङ्ग्रहमाथि समीक्षा गर्दै अधिकारीको पहिलो कथा सङ्ग्रह `मर्फिन’को स्मरण गर्नु भयो । उहाँले ‘डोपामिन’ले पनि पाठकलाई उत्तिकै प्रेरणा र जीवनबोध दिने विश्वास व्यक्त गर्नु भयो ।श्रेष्ठले बुढेसकालमा मानिसले “स्वास्थ्य कस्तो छ?” भनेर सोध्नुको अर्थ वास्तवमा “तपाईं खुसी हुनुहुन्छ कि हुनुहुन्न?” भन्ने चासोसँग जोडिएको उल्लेख गर्दै डोपामिनलाई खुसी र प्रेरणाको जैविक आधारका रूपमा बुझ्न आग्रह गर्नु भयो ।
अग्रज पत्रकार तथा साहित्यकार श्रीराम सिंह बस्नेतले लक्ष्मण अधिकारीका कथाले नेपाली कथा साहित्यमा पृथक् शैली स्थापित गरेको बताउनु भयो । उहाँका अनुसार अधिकारीका कथाहरू विषयवस्तु, प्रस्तुति र संरचनाका हिसाबले फरक पहिचान बनाउन सफल छन्।
पत्रकार, साहित्यकार तथा प्राध्यापक कपिल काफ्लेले अधिकारीका कथालाई फिचर लेखन र अनुसन्धानमूलक पत्रकारितासँग तुलना गर्न सकिने बताउनु भयो । उहाँले एउटै विषयवस्तुलाई केन्द्रमा राखेर सिर्जना गरिएका यस्ता कथाहरू नेपाली कथा साहित्यमा दुर्लभ रहेको उल्लेख गर्दै अधिकारीको लेखनले नयाँ आयाम थपेको धारणा राख्नु भयो ।
कथाकार लक्ष्मण अधिकारीले आफू पत्रकारितामा स्वास्थ्य क्षेत्रमा बढी सक्रिय रहेकाले आफ्ना कथाहरूमा स्वास्थ्यसम्बन्धी विषयवस्तु स्वाभाविक रूपमा आएको स्मरण गर्नु भयो । अध्ययन र अनुभवकै आधारमा आफू यस प्रकारको कथा लेखनतर्फ प्रेरित भएको उहाँको भनाइ थियो।
कार्यक्रममा कामना प्रकाशनका सिइयाे दिरेकलाल श्रेष्ठले अधिकारीको पत्रकारिता यात्रा कामना प्रकाशनबाट सुरु भएको स्मरण गर्दै ‘डोपामिन’ प्रकाशित गर्न पाउँदा खुसी लागेको बताउनु भयो । आगामी दिनमा पनि गुणस्तरीय साहित्यिक कृतिहरू प्रकाशन गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।
कार्यक्रममा कामना प्रकाशनकि अग्रज पत्रकार भगवती तिमल्सिनाले स्वागत मन्त्र राख्नु भएको थियो । साे कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले ‘डोपामिन’ले नेपाली कथा साहित्यमा नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।


