प्रतिबिम्बको सिंहासन – शिशिर भण्डारी

+
-

प्रतिबिम्बको सिंहासन

– शिशिर भण्डारी

हिजो राति –
एउटा नमिठो सपना देखेँ ।

जहाँ म मेरी छोरीलाई
“प्रतिबिम्बको सिंहासन”
कथा सुनाइरहेको थिएँ ।

एक समय
एउटा देशले आफ्ना सबै ऐनाहरू भेला गर्‍यो
र तिनलाई दोष दिन थाल्यो ।

कसैले भन्यो—
अनुहार बिग्रिएको होइन,
प्रतिबिम्ब बिग्रिएको हो ।

कसैले भन्यो—
समस्या आँखामा होइन,
ऐनाको सतहमा छ ।

अनि देशभरि
ऐनाहरूविरुद्ध एउटा महा अभियान चल्यो ।

किनकि सत्यभन्दा सजिलो
दोषी खोज्नु हुन्छ ।

त्यही समय
भाग्यको एउटा चिठ्ठा
हावाले उडाउँदै ल्यायो ।

र भीडले त्यसलाई भविष्य ठान्यो ।

चिठ्ठाले एउटा मानिसलाई उचाल्यो,
उचाल्दै–उचाल्दै यति माथि पुर्‍यायो कि
उसले आफ्नो उचाइलाई क्षमता ठान्न थाल्यो,
र आफ्नो प्रतिध्वनिलाई विचार ।

उसका शब्दहरूमा अर्थ कम थियो,
तर गुञ्ज धेरै थियो।
र गुञ्ज नै त्यस युगको भाषा बन्यो ।

त्यो समय
ज्ञान पुस्तकमा होइन,
नारामा नापिन्थ्यो ।

विवेक तर्कमा होइन,
तालीको संख्यामा गनिन्थ्यो ।

र लोकप्रियता
योग्यताको उत्तराधिकारी बनेर हिँड्थ्यो ।

देशले त्यसलाई परिवर्तन भन्यो ।

जसरी बालकले
पहिलोपटक हातमा परेको रङलाई
इन्द्रेणी सम्झिन्छ ।

जसरी खोलाले
आफ्नो हल्लालाई समुद्र ठान्छ ।

जसरी जूनकीरीले
आफ्नो झिल्कोलाई सूर्य ठान्छ ।

त्यस्तै भ्रममा
देश बाँचिरहेको थियो ।

उता समय भने
चुपचाप इतिहास लेखिरहेको थियो ।

उसले लेख्यो—
“यहाँ मानिसहरूले दिशा होइन, वेग रोजे ।”
“यहाँ प्रतिध्वनिलाई बुद्धिमत्ता भनियो ।”
“यहाँ चमकलाई उज्यालोको नाम दिइयो ।”

र अन्त्यमा उसले लेख्यो—
“यहाँ एक व्यक्तिमा सत्ता थिएन,
सत्ता स्वयं सामूहिक भ्रम बनेको थियो ।”

वर्षौंपछि

जब धुलो बस्नेछ,
जब नाराहरू आफ्नै प्रतिध्वनिमा थाक्नेछन्,
जब तालीहरू इतिहासका पानाझैँ पहेँलिनेछन्—

त्यतिबेला प्रश्न कुनै व्यक्तिको हुनेछैन ।
प्रश्न हुनेछ—

किन यति धेरै मानिसहरूले
आफ्नो असहिष्णुतालाई साहस ठाने ?

किन यति धेरै मानिसहरूले
आफ्नो अधैर्यतालाई परिवर्तन भने ?

किन यति धेरै मानिसहरूले
आफ्नो अज्ञानलाई
आत्मविश्वासको मुकुट लगाइदिए ?

किनकि अन्ततः
शासन कुनै एक व्यक्तिको कथा होइन ।
यो त
समाजले देख्ने साझा प्रतिबिम्ब हो ।

र जब प्रतिबिम्ब असहज लाग्छ,
त्यो बेला सत्य एकै हुन्छ—

ऐना दोषी हुँदैन,
तर त्यसमा देखिएको अनुहार
बोल्न थाल्छ ।

त्यति नै बेला
तल छिडीमा भाले बास्यो –
अनि म झसङ्ग ब्युँझिएँ।

– २०८३ जेठ १९ गते ।