दशैं के हो ? कुन मन्त्रले कसरी देवीको पूजा गरिन्छ

+
-

रिकेश विश्वकर्मा(क्षितिज)

दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले आफुभन्दा ठुलाबाट टिका लगाउने , मिठो खाने ,रमाइलो गर्ने भनेर बुझ्छन । तर ,दशैको महत्व भने यति मात्र होइन, यसका अन्य धेरै महत्वपूर्ण पक्षहरु रहेका छन् ।

 

सामान्यतया दशैं शब्दको अर्थ १०अंकबाट श्रृजित भएको हो । दश अंक “१” प्रकृतिमा “०” प्रत्यय थपेर बनेको हो । १० अंकले प्रकृति एक नहुने हो भने ० ले कुनै अर्थ राख्दैन । गाउँमा प्राय : मानिसहरु १० महिनासम्म खेतीपाती गर्छन । यसरि काम गर्दा आराम र मनोरञ्जन पनि आबश्यक पर्दछ ।

 

यदि यसो नगर्ने हो भने मानिस विरामी हुन्छ र स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । दश महिना काम गरेर प्रकृति (धर्तिमाता) र प्रत्येक मनुष्यले बिश्राम लिने अबसरको रुपमा दशै सुरु भएको हो भन्ने मत एकथरि विद्वानहरुको छ, भने अर्का थरी बिद्वानले शक्तिको आराधना गर्ने उचित समय हो भनेका छन्। नवौं दिनसम्म शक्तिको आराधना गरिने र दशौँ दिन प्रसाद स्वरुप टीका र जमरालाई प्रसाद स्वरूप लगाईने भएर दशैँ भनिएको हो पनि भन्ने गर्दछन ।

प्रश्न उठ्छ धर्तीमाताले कसरी बिश्राम लिन्छिन त ? दशैको समयमा मान्छेले खेतिबाली लगाउदैनन् । लगाएको खेतिबाली फल्न र फुल्न सुरु गरेको हुन्छ । यो भनेको धर्तीले विश्राम लिएको हो भन्ने गरिन्छ। 

ईतिहाँसको गतिसंगै दशैको नाम बद्लिदै बदलिदै आएको हो । हिन्दु आदीम ग्रन्थ ऋग्वेदले यो दशैलाई बशन्त संपात भनेर उल्लेख गरेको भेटिन्छ। दशैंमा शक्तिको आराधना गर्ने र कालरात्रीमा देवीलाई पशुबली दिएर प्रसाद स्वरुप मासु ग्रहण गरिने भएकाले विशेष मासु खाने पर्वको रुपमा लिने गरिएको विद्वानहरु बताउछन ।

 

दशैंलाई वडा दशैं, नवरात्र, दशहरा जस्ता विभिन्न नामले चिन्ने गरिन्छ । यो चाड हिन्दु नेपालीहरुको विशेष र प्रमुख चाडको रुपमा मान्ने चलन रहिआएको छ । असोज महिनाको शुक्ल प्रतिपदा देखि नवमीसम्म शक्तिको आरधना गरी दशौ दिन प्रसाद स्वरुप टीका तथा जमरा मान्यजनको हातबाट लगाई अशिर्बाद लिने सर्वमान्य चलन रहेको छ । आश्विनशुक्ल प्रतिपदादेखि जमरा राखी नवमीसम्म प्रत्येक दिन फरक–फरक देवीको पुजा- आरधना गरिन्छ ।

यसरी ९दिनसम्म लगातार सप्तशती चण्डि पाठ गरिन्छ।ग्रन्थका अनुसार: प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति छ ।
सप्तमं कालरात्रीति माहागौरीति चाष्टमम् ।।
नवमं सिध्दिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
प्रथम दिनदेखि नबौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, माहागौरी, सिध्दिदात्री देबीहरुको पुजा तथा आराधना गर्ने कुरा हिन्दु ग्रन्थहरुमा उल्लेख भएको छ।

शक्तिको आराधना गर्नेहरुको लागी यो समय उत्तम मानिन्छ । यो अवसरमा त्रिशक्ति महाकाली, महासरस्वती, महालक्ष्मीको बिशेष आरधना गर्ने गरिन्छ । विजया दशमीको दिन भगवती देवीले आसुरी शक्तिलाई पराजय गरेको र रामले रावणसंग विजय हासिल गरेको भन्ने मान्यता अनुसार बिजय उत्सव स्वरुप टीका तथा जमरा लगाईन्छ भन्ने मान्यता छ । यो पर्वलाई असत्य माथि सत्यको बिजय स्वरुप लिने गरिन्छ ।
दशमीको दिन पुरुष र महिलालाई फरक फरक बैदिक मन्त्र उच्चारण गरेर मान्यजनले आफूभन्दा सानालाई टीका र जमरा लगाईदिने चलन छ ।

पुरुषलाई आशिर्वाद दिँदा यि मन्त्रहरु उच्चारण गरिन्छ ।
ॐआयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्रको अर्थः द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो सत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायुको जस्तो गति होस, दूर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र झै दानी होस, भीमको जस्तो वल होस, युधिष्ठिर जस्तो सत्यवान होस, विदूरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति रहोस । भन्दै मान्यजनले टिका तथा जमरा लगाईदिने चलन छ ।

महिलालाई यी मन्त्रोच्चारण गरी आशिर्वाद दिइन्छ।
ॐजयन्ती मङ्गलाकाली,भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,स्वाहा स्वधा नमोऽस्तुते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जया बर्वगते देवि कालरात्रि नमोस्तुते ।।

अर्थात ः तिनै शक्ति जसमा सम्पूर्ण संसारलाई नै जित्न सक्ने सामर्थ्य छ। जसमा हरेक अन्धकारको निदान गर्ने सामर्थ्य छ । समयको गतिभन्दा पर रहेकी अनि हरेक प्रकारका दुख तथा पिडाको निदान गर्न सक्ने । जगतको रक्षा गर्ने हे देवी तिम्रो जय होस, हामी तिमीलाई नमन गर्दछौं । हे कालरात्री तिमिलाई नमस्कार छ भन्दै महिलालाई देवीकै स्वरुप मानेर आसिर्बाद दिने चलन छ ।