टुकी संवाददाता
बनेपा/ नेपालीहरूको महान चाड दशै र तिहार सुरु भएसँगै भुम्लु गाउँपालिकामा वर्षाले रोकिएको विकास निर्माण कार्यले तीव्रता पाएको छ। युवा जनप्रतिनिधिहरुको सक्रियतामा मर्मत कार्यले गति लिएको हो।
उपाध्यक्ष जितेन्द्र मान तामाङ( दावा)आफ्नै डोजर लिएर वर्षाले बिगारेको बाटो मर्मत गर्न वडा तहमा खटिनु भएको थियो । हाल अरनिको राजमार्ग अन्तर्गत पर्ने दोलालघाटको इन्द्रावती र सुनकोसी पुलमा रङरोगन गर्ने कार्यमा लाग्नुभएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरको क्षेत्राधिकारभित्र पर्ने पुलको रङ्ग लगाउने काम भुम्लु गाउँपालिकाले गरिरहेको छ ।सडक डिभिजन कार्यालयलाई पत्राचार गरी काम गराउनु पर्दा समय लाग्ने भएकाले पालिकाको विविध खर्च अन्तर्गत रकम प्रयोग गरिएको बताइएको छ।
इन्द्रावती र सुनकोसीको पुल रङ्ग रोगन गर्नका लागि ३ लाख ८० हजारमा ठेक्का दिइएको उपाध्यक्ष जितेन्द्र मान तामाङ( दावा)ले बताउनुभयो।
अरनिको राजमार्ग भुम्लु गाउँपालिका अन्तर्गतको भूगोलमा पर्ने पिच सडक र पुलको खाल्टा -खुल्टी पुर्ने र मर्मतसम्भार गरीदिन सडक डिभिजन कार्यालयलाई अनुरोध गरिएको छ। गाउँपालिकाको तर्फबाट सडक डिभिजन कार्यालय भक्तपुरलाई पत्राचार भइसकेको पनि उपाध्यक्ष तामाङले बताउनुभयो।
पर्यटकिय स्थल दोलालघाटमा रहेका संरचनाहरुलाई सुन्दर बनाउनसके आन्तरिक पर्यटक वृद्धि हुने र बजारको सुन्दरता पनि बढ्ने आशा व्यक्त गरिएको छ।


