ओखलढुंगा । चम्पादेवी गाउँपालिका–३ नम्बर वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका वडावासीलाई लक्षित गरी काठमाडौंमै सेवा शिविर सञ्चालन गर्ने भएको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साल साउन २९ र ३० गते काठमाडौंको जडीबुटीमा सेवा शिविर सञ्चालन हुनेछ। शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।
गाउँघरमा पुगेर सेवा लिन कठिनाइ हुने काठमाडौं उपत्यकामा बसोबास गरिरहेका वडावासीलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। शिविरमार्फत वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरू काठमाडौंमै उपलब्ध गराइने जनाइएको छ।
विशेषगरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, व्यक्तिगत घटना दर्ता र राजस्व संकलन लगायतका सेवा शिविरबाट प्रदान गरिनेछन्।
सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरणका लागि सेवाग्राहीले नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा राष्ट्रिय परिचयपत्र नम्बर खुलेको हकमा त्यसको प्रतिलिपि पेश गर्नुपर्नेछ।
त्यस्तै, विधवा वा श्रीमान्को मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत आवश्यक पर्ने वडा कार्यालयले जनाएको छ।
अन्य सेवाका लागि भने सम्बन्धित सेवाअनुसार कानुनबमोजिम आवश्यक कागजात लिएर शिविरमा उपस्थित हुन वडा कार्यालयले अनुरोध गरेको छ।
वडा कार्यालयले दलित बालबालिका, पूर्ण अपाङ्गता भएका नागरिक तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि विशेष सहजीकरण गरिने जनाएको छ।
सेवा शिविरसम्बन्धी थप जानकारी तथा आवश्यक सहजीकरणका लागि वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा सचिव रोशन तामाङलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
वडावासीलाई काठमाडौंमै वडा कार्यालयका सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट काठमाडौं उपत्यकामा रहेका वडावासी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।


