दुई महिनाको अन्तरमा दोहोरियो विपद्

अ+
अ
अ-

चिनाखेतका बासिन्दाले यस वर्ष दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरोको सामना गर्नुपरेको छ । गत साउन ११ गते र असोज ११ गते आएको बाढीले बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएपछि यहाँका बासिन्दा सुरक्षित बसोबासको चिन्तामा परेका छन् ।

चिनाखेतकी स्थानीय शिक्षक चमेली थापाका अनुसार बाढीपहिरोले बस्तीमा क्षति पुर्याएपछि दसैँतिहारको माहोल नै हराएको छ । विपद्को जोखिम बढ्दै जाँदा स्थानीय बासिन्दा आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ सर्ने क्रमसमेत बढेको उहाँले बताउनुभयो ।

“पहिरोले उठिबास लगाएकाले चाडपर्वको माहोल नै हराएको छ”, उहाँले भन्नुभयो, “दुई महिनाको अन्तरमा लगातार पहिरो आएपछि चिनाखेतवासी थातथलो छाडेर बसाइँ सर्ने क्रम बढेको छ ।”

बस्तीमाथिको पाखोमा सक्रिय रहेको पहिरो खोल्सामा मिसिँदा गेगरसहितको बाढी बस्ती र खेतबारीतर्फ पस्ने गरेको छ । पहिरो र बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन भएको छ ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो । असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनको घर बस्नै नमिल्ने बनाएको छ ।