विश्व आदिवासी दिवस,अधिकार र पहिचान संरक्षणमा जोड

अ+
अ
अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अघि बढाएसँगै हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।

आदिवासी भन्नाले कुनै भूभागमा धेरै पुरानो समयदेखि बसोबास गर्दै आएका तथा आफ्नो पुर्ख्यौली भूमिको संरक्षण गर्दै भाषा, संस्कृति, रीतिरिवाज, कला, हस्तकला र मौलिक पहिचान कायम राखेका समुदायलाई बुझिन्छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। नेपालको अधिकांश भूभागमा विभिन्न आदिवासी जनजाति समुदायको ऐतिहासिक बसोबास रहँदै आएको छ। उनीहरूले आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति र परम्परालाई पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा आदिवासी समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा र पुर्ख्यौली भूमिको संरक्षण गर्दै समान अवसर र सम्मानजनक सहभागिताका लागि आवाज उठाउने गरिन्छ।